कोरोना संक्रमित भुल्केका ६ भारतीय अस्पतालबाट डिस्जार्च

वैशाख २४, २०७७ | मोरङ

मोरङको विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा राखिएका ६ जना भारतीय नागरिक डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केस्थित नुरी मस्जिदबाट ल्याइएका मध्ये ६ जना भारतीय नागरिकमा कोरोना संक्रमण नदेखिएपछि आज डिस्चार्ज गरिएको हो । 

कोशी अस्पतालको प्रयोगशालामा गत शुक्रबारदेखि लगातार तेस्रो पटक स्वाब परीक्षण गर्दा संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । डिस्चार्जपछि उनीहरुलाई विराटनगर–१५ रानीस्थित ‘रानी मर्कज’ को क्वारेन्टाइनमा लगेर राखिएको छ । 

उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर पपन: थ्रोट स्वाब परीक्षण गरिने कोशी अस्पतालकी मेडिकल सुपरिडेण्टेण्ट डा. संगीता मिश्रले बताउनुभयो । सबैभन्दा पहिले संक्रमण पुष्टि भएका १३ जनाको लगातार तीन पटक थ्रोट स्वाब परीक्षण गर्दा ६ जनामा संक्रमण नदेखिएको उहाँले बताउनुभयो । 

अन्य ७ जनामा तीनै पटकको परीक्षणमा संक्रमण देखिएकाले उनीहरुको अस्पतालको आइसोलेशनमा राखिएको छ । डा. मिश्रले संक्रमितहरु उपचार केन्द्रमा आएदेखि हेरचाह मात्रै गरेको र हालसम्म कसैलाई पनि कुनै किसिमको उपचार गर्नुपर्ने कुनै लक्षण नदेखिएको बताउनुभयो । 

उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा बसेका उनीहरुमा गत बैशाख ५ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखिएको थियो । त्यसपछि भुल्केका थप १६ जना गरी कुल २८ जना संक्रमित सो उपचार केन्द्रमा भर्ना छन् । 

यस्तै, भोजपुर हतुवागढीका १ र झापाको बाह्रदशी र दमकको २ जना गरी कुल ३१ जना उपचार केन्द्रमा भर्ना छन् । उपचार केन्द्रमा रहेका भुल्केका अन्य १५ जनाको पनि सोमबार परीक्षणका लागि स्वाब संकलन गरिएको नतिजा आउन बाँकी रहेको डा. मिश्रले बताउनुभयो । 


प्रतिक्रिया