सरकार अन्योलमै, प्रतिष्ठानले कीट किन्यो

वैशाख २४, २०७७ | सुर्खेत

कर्णाली प्रदेश र संघीय सरकारले समयमै प्रयोगशाला सामग्री खरिद गर्न नसकिरेका बेला जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने टेन्डर प्रक्रियाबाट कोरोना परीक्षण कीट खरिद गरेको छ । प्रतिष्ठानमा अहिले पनि पीसीआर परीक्षण रोकिएको छैन । 

प्रतिष्ठानले टेन्डर प्रक्रिया मार्फत पहिलो चरणमा एक–एक हजार थान भीटीएम (भाइरल ट्रान्सफर्म मिडियम), प्रोसेसिङको लागि चाहिने आरएनए एक्स्प्रेसन कीट र रिएजेन्ट खरिद गरिसकेको छ । चिनियाँ कम्पनी डील्याबले बिहीबारसम्म सामान काठमाडौं ल्याउने र दुई–तीन दिनमा जुम्ला ल्याइपुर्‍याइने प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताउनुभयो । 

उहाँका अनुसार डी ल्याब करीब एक महिनाअघि आरटी–पीसीआर मेसिन र प्रयोगशाला सामग्री खरिदको लागि टेन्डर प्रक्रियाबाट छनोट भएको थियो । प्रतिष्ठानले युरोपियन स्ट्यान्डर्ड (सीई सर्टिफाइड) का रिएजेन्ट र आरएनए एक्स्प्रेसन कीट तथा अमेरिकन स्ट्यान्डर्ड (यूएसएफएडी) का भीटीएम ल्याउन लागेको हो । 

यी दुबै स्ट्न्यान्डर्ड आइएसओ सर्टिफाइड (इन्टरनेशनल अर्गनाइजेसशन फर स्ट्यान्डरडाइजेसन) हुन् । सोही कम्पनीले २ हजार थान आरडीटी (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) कीट पनि ल्याउन लागेको छ । यसको लागि खरिद प्रक्रिया सुरु भएको र शनिबारसम्म कीट काठमाडौं आइपुग्ने रजिष्ट्रार काफ्लेले बताउनुभयो ।

प्रतिष्ठानले जुम्ला, मुगु, कालीकोट र हुम्लामा पीसीआर तथा आरडीटी परीक्षणको जिम्मा लिएको छ । यी जिल्लामा ९/९ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली पनि पठाउन लागिएको रष्ट्रिार काफ्लेको भनाइ छ । ‘हामीले संघ र प्रदेश सरकारसँग पनि थप प्रयोगशाला सामग्री मागेका छौं,’ उहाँले भन्नुभयो, ‘ढिलो हुने भएकोले आफैले पनि खरिद सुरु गरेका हौं ।’ सोमबारदेखि पीसीआर परीक्षण सुरु भएको प्रतिष्ठानमा अहिले १ सय ७० वटा स्वाब परीक्षण गर्न सक्ने गरी कीट स्टक रहेका उहाँले बताउनुभयो ।

प्रयोगशाला सामग्रीको अभावमा सुर्खेतमा रहेका दुईवटा आरटी–पीसीआर मेसिन भने थन्किएका छन् । संघीय सरकारले पठाएको कम क्षमताको मेसिन बैशाख १२ गतेदेखि र प्रदेश सरकार आफैले ल्याएको ठूलो मेसिन मंगलबारदेखि थन्किएको हो । 

मंगलबारदेखि परीक्षणको लागि संकलित स्वाबको नमूना र प्रोसेसिङ कीट सकिएपछि काम रोकिएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले बताउनुभयो । उहाँका अनुसार प्रोसेसिङ कीट नहुँदा बुधबार १८ वटा नमूना परीक्षणको लागि काठमाडौं पठाइएको छ ।

प्रदेश सरकारले मेसिन खरिद गरेसँगै भीटीएम, प्रोसेसिङ कीट र रि–एजेन्ट जस्ता प्रयोगशाला सामग्री खरिद गर्न खोजेको थियो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक विकास मन्त्रालयलाई प्रयोगशाला सामग्री खरिदको लागि निर्देशन समेत दिइसकेका छन् । तर, सामान कसरी खरिद गर्ने भन्नेबारे अन्योलता देखिएको मन्त्रालयका निमित्त सचिव धर्मजीत शाहीले बताउनुभयो । 

‘केन्द्र सरकारसँग पनि सामान मागिरहेका छौं, कोरियामा रहेका केही सहयोगी दाताले पनि उपलब्ध गराउने बचन दिनुभएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले खरिद गर्नुपरेको खण्डमा चाहीँ कसरी ल्याउने भन्ने अलमल भएको छ ।’


प्रतिक्रिया