सोमबार राति भित्रिएका १६७ जना बैजनाथ माविको क्वारेण्टाइनमा

वैशाख ३०, २०७७ | कञ्चनपुर

सीमावर्ती भारतीय क्षेत्रमा क्वारेण्टाइनमा रहेका नेपालीलाई रातारात दशगजामा छाड्ने क्रम सोमबार राति पनि जारी रह्यो । ब्रह्मदेव नजिकै भारत उत्तराखण्डको टनकपुरमा क्वारेण्टाइनमा रहेका थप १६७ जनालाई दशगजामा छाडेपछि रातारात भित्र्याइएको हो । 

भारतीय सुरक्षाकर्मीले मध्य रातमा दशगजामा छाडेपछि उनीहरुलाई नियन्त्रणमा लिई महेन्द्रनगरस्थित बैजनाथ माविको क्वारेण्टाइनमा राखिएको छ । 

‘४०/४५ दिन क्वारेण्टाइनमा बसेकाहरुलाई मध्य रातमा दशगजामा छाडेपछि हामीले ल्याएर क्वारेण्टाइनमा राखेका छौं’ सशस्त्र प्रहरीको झलारीस्थित ३५ नम्बर गणका एसपी वीर सिंह साहुले भन्नुभयो, ‘हामीलाई जानकारी नै नदिएर नेपालीलाई दिनहुँ दशगजामा छाडन थालिएको छ ।’

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केन्द्रबाट आदेश नआएको भन्दै भारतीय क्षेत्रमा रहेका नेपालीलाई भित्र्याउन नमानेपछि भारतीय पक्षले समन्वय बिना नै एकतर्फी रुपमा दशगजामा ल्याएर छाड्न थालेको हो । 

केही दिन त नाकामै पुगेकाहरुलाई समेत भारततर्फ फिर्ता पठाइएको हो । आईतबार राति पनि ७५ जना नेपालीलाई ब्रह्मदेवमै पुर्‍याएर छाडेको थियो । उनीहरुलाई पनि सशस्त्रले क्वारेण्टाइनमा राखेर आरडीटी परीक्षण गरिएको छ । कतिपयलाई सम्बन्धित स्थानीय तहमै पठाइएको छ ।

‘सोमबार राति आएकाहरुको पनि आरडीटी परीक्षण गरेर सम्बन्धित स्थानीय तहमा पठाइनेछ’ एसपी साहुले भन्नुभयो, ‘यस विषयमा सम्बन्धित स्थानीय तह र प्रदेशसँग समन्वय भईरहेको छ ।’ 

उहाँका अनुसार अब सीमावर्ती क्षेत्रमा क्वारेण्टाइनमा रहेकाहरु लगभग नेपाल फर्किएका छन् । शनिबार राति दोधारा चांदनी क्षेत्रबाट फर्काइएकाहरुलाई खटीमाको एक विद्यालयमा राखिएको छ । 


प्रतिक्रिया