कर्णालीमा उच्च सतर्कता, भारतबाट २३६ जना भित्रिए

जेष्ठ २, २०७७ | सुर्खे

भारतले रेल सेवा सञ्चालन गरेपछि कामको लागि गएका नेपालीहरु स्वदेश फर्किन थालेका छन् । पहिलो चरणमा बाँकेको रुपैडिया नाकाबाट २ सय ३६ जना नेपाल प्रवेश गरेका छन् । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बिहीबार राति नाका प्रवेश गराएर आरडीटी (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) गरी कर्णाली प्रवेशमा पठाउने तयारी भइरहेको बताउनुभयो । 

उहाँका अनुसार दैलेखका ९७ जना, सुर्खेतका ४४ जना, जुम्लाका २८ जना, कालीकोटका २६ जना, रुकुम पश्चिमका १९ जना, जाजरकोटका १४ जना, सल्यानका ७ जना र मुगुका १ जना रुपैडिया नाकाबाट नेपाल प्रवेश गरेका हुन् । उहाँका अनुसार बिहीबार राति रुपैडिया नाकाबाट ६ सय ८४ जना प्रवेश गरेका छन् । ती व्यक्ति विभिन्न ४२ जिल्लाका छन् । 

‘हामीले सम्बन्धित स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर पठाउने काम गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘उच्च सावधानीका साथ निर्बाध रुपमा उनीहरुलाई गन्तव्यमा पुर्‍याउन सबैले सहयोग गर्नुपर्छ ।’ 

भारतले रेल सेवा सुरु गरेपछि कर्णालीमा भित्रिने जोखिम र त्यसको व्यवस्थापनबारे छलफल गर्न शुक्रबार बिहान कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सुरक्षा निकाय, स्थानीय प्रशासन, स्वास्थ्य निकायका प्रमुखहरुको संयुक्त बैठक बसेको छ । बैठकले नाकासम्म आइपुगेका कर्णालीबासीको संख्या संकलन गरी सुरक्षित रुपमा भित्र्याउने बारे निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताउनुभयो ।

‘भारतीय नाका क्षेत्रका जिल्ला प्रशासन कार्यालय, संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी उनीहरुलाई ल्याउने र क्वारेन्टाइनमा राखेर घर पठाउने निर्णय भएको छ,’ उहाँले भन्नुभयो, ‘प्रदेश प्रवेश गर्ने प्रमुख नाका बबईमा समेत हेल्प डेस्क र आइसोलेसन कक्ष बनाउने निर्णय भएको छ ।’ अवैध नाकाबाट प्रवेश गर्न नदिन सुरक्षा व्यवस्था कडा बनाइने र बैध नाकाबाट स्वास्थ्य चेकजाँच गरेर मात्र भित्र्याउने उहाँले बताउनुभयो ।  


प्रतिक्रिया