भारतको सुरतबाट फर्किएका एक नेपालीको नाकामै मृत्यु

जेष्ठ १४, २०७७ | जनकपुर

भारतको गुजरात प्रदेशको सुरत सहरबाट बुधबार बिहान ३ बजे धनुषाको जटही नाकामा आइपुगेका एक नेपालीको मृत्यु भएको छ । सुरतमै गम्भीर बिरामी रहेका उनको बिहान ८ बजेतिर मृत्यु भएको हो । 

धनुषाको सहीदनगर नगरपालिका–९ का ३० वर्षीय वीरेन्द्र प्रसाद यादवको नेपाल प्रवेश गर्ने क्रममा जटही नाकामा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो । 

रेल्वेबाट बिहारको दरभंगामा उत्रिएका यादव सहित करीब २ सय ५० जनाको टोली बुधबार बिहान ३ बजेतिर जटही नाका आइपुगेका थिए । बिरामी रहेका यादवलाई सशस्त्र प्रहरीको जटही बीओपीले बिहान खानाको बन्दोबस्त मिलाइदिएको थियो ।

‘खाना खाएपछि उलटी गर्‍यो र लगत्तै उनको मृत्यु भयो,’ सशस्त्र प्रहरी धनुषाका एक अधिकारीले भने, ‘उनी गम्भीर बिरामी रहेको हामीलाई खबरै गरिएन ।’

सुरतबाट फर्किएका यादवलाई लिन जटही नाकामा उनको परिवारका सदस्य पनि पुगेका थिए । गम्भीर बिरामी रहेको र नाकामा इन्ट्री गर्ने काम ८ बजेदेखि मात्र सुरु हुने हुँदा उनलाई तत्कालै अस्पतालसम्म पुर्‍याउन नसक्दा नाकामै मृत्यु भएको हो ।

नाकामा आइपुगेका नेपालीहरुलाई सशस्त्र प्रहरीको डेस्कले बिहान ८ बजेदेखि इन्ट्री गरेपछि त्यही रहने स्वास्थ्यकर्मीको टिमले प्रारम्भिक स्वास्थ्य जाँच गर्छन । त्यसपछि गाडीमा राखेर उनी सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनसम्म पुर्‍याइन्छ । यो क्रम साँझ ६ बजेसम्म चल्छ । 

‘तर, सुरतबाट २–३ सयको भीड बिहान ३ बजे नै नाकामा आइपुग्यो, धनुषाका सीडीओ निरौलाले भने, ‘त्यसमध्ये यादव बिरामी रहेको हामीलाई जानकारी नै दिइएन् । उनलाई बुझन नाकामा पुगेका परिवारका सदस्यले पनि बिरामी रहेको ठाँटे ।’

मृतक यादवलाई अहिले नाकामै राखिएको छ । उनलाई विशेष सावधानी पूर्वक प्रादेशिक अस्पताल जनकपुरमा ल्याएर स्वाब परीक्षण गरिने सीडीओ निरौलाले बताउनुभयो । सुरतबाट नाकामा आइपुगेका सबैलाई क्वारेन्टाइनमा राखिएको पनि उहाँले जानकारी दिनुभयो । नाकामै यादवको मृत्यु भएपछि उनीसँगै सुरतबाट आएकाहरुले केहीबेर होहल्ला गरेका थिए । 


प्रतिक्रिया