भारत रक्सौलको क्वारेन्टाइनमा रहेका नेपाली स्वेदश फर्कंदै

जेष्ठ १४, २०७७ | वीरगञ्ज

नेपाल र भारतमा जारी लकडाउनका कारण लामो समयदेखि सीमावर्ती भारतीय शहर रक्सौलको क्वारेन्टाइनमा रहेका नेपालीहरु स्वदेश फर्किन थालेका छन् । बुधबार बिहान पहिलो लटमा एक सय एक नेपाली नागरिक स्वेदश फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 

मुख्य नाकामा सुरक्षाकर्मीले उच्च सर्तकताका साथ स्वेदश फर्किएकाहरुको विवरण लिएका थिए । स्वास्थ्यकर्मीले तापक्रम जाँचेका थिए । शंकराचार्य गेट नजिकै बनाइएको टेन्टमा स्वदेश फर्किएका लागि खाने पानी, बिस्कुट र मास्कको व्यवस्था पनि गरिएको थियो ।

रक्सौलको क्वारेन्टाइनमा भारतको विभिन्न राज्यमा रोजगारी, तीर्थाटनका लागि गएका २५ जिल्लाका करीब ३ सय पचास देखि चार सय नेपाली रहेका छन् । रक्सौलको हजारीमल विद्यालयमा बनाइएको क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई वीरगञ्ज नाकाबाट स्वेदश भित्र्याएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो । 

पश्चिम रुकुमका २३ र दांगका २१ जनालाई सम्बन्धित जिल्लाले सवारी साधनको व्यवस्था गरी वीरगञ्ज पठाइसकेकाले उनीहरुलाई आजै सम्बन्धित जिल्लामा पठाइने सूचना अधिकारी समेत रहेका बस्नेतले बताउनुभयो । रुकम र दांगका वासिन्दालाई उनले जिल्ला पुगेर अनिवार्य क्वारेन्टाइनमा बस्न सुझाव दिएका थिए । नजिकैका जिल्लाका वासिन्दालाई सम्बन्धित प्रशासनको जिम्मा लगाइने र अन्यलाई वीरगन्जकै क्वारेन्टाइनमा राखिने उहाँले बताउनुभयो । 

यसअघि गत जेठ ६ मा वीरगञ्जमा रोकिएका २ सय १५ भारतीय नागरिकलाई भारतीय अधिकारीको जिम्मा लगाइएको थियो । स्थानीय प्रशासनले भारतीय नागरिकलाई स्वदेश फर्काएको भोलिपल्ट रक्सौलको क्वारेन्टाइनमा रहेका २ सय २२ नेपाली नागरिकलाई स्वदेश ल्याउने कार्यक्रम रहेको जनाएको थियो । तर, भारतीय पक्षको आनाकानीका कारण ७ दिनपछि मात्र नेपाली नागरिक स्वदेश फर्किएका हुन् । स्वेदश फर्किन नपाउँदा नेपाली नागरिकले रक्सौलमा नाराबाजी र विरोध प्रदर्शन समेत गर्दै आएका थिए । 


प्रतिक्रिया