जग्गा विवादमा झडप हुँदा सिरहामा १५ घाइते

जेष्ठ १४, २०७७ | सिरहा

जग्गा विवादमा दुई पक्षबीच बुधबार झडप हुँदा सिरहाको नरहा गाउँपालिका–३ खोरियामा १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार जग्गा विवादलाई लिएर छलफल चलिरहँदा नरहा गाउँपालिका–३ खोरियाका मोहम्मद रमतुल्ला अन्सारी र मोहम्मद मनिर अन्सारी पक्षबीच झडप भएको थियो ।

झडपमा रमतुल्ला पक्षका मोहम्मद मजबुल, मुबारक मियाँ, जाकिर अन्सारी, मिनत, साहिद अन्सारी घाइते भएका छन् । झडपमा मोहम्मद मनिर अन्सारी पक्षका हमिद मियाँ, अजमत राईन, दाउद अन्सारी, सुलफा खातुन, मोहम्मद अन्सारी लगायत घाइते छन् । 

अधिकांश घाइतेको टाउको, हात र खुट्टामा चोट लागेको छ । घाइतेको स्थानीय रुपेश मेडिकल र प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । स्थानीय मोहम्मद रमतुल्ला अन्सारी, जुबेर कलाम र मोहम्मद मनिर अन्सारी बीच लामो समयदेखि जग्गा विवाद हुँदै आएको छ ।

सोही जग्गा विवादलाई लिएर बुधबार स्थानीय भेला भएका थिए । दिउसो २ बजेतिर छलफलमा विवाद हुँद झडपमा उत्रिएका दुवै पक्षले घरेलु हतियारसहित ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी प्रमुख डीएसपी सन्तु जयसवालले जग्गा विवादमा दुई पक्षबीच भएको झडपमा घाइतेहरुको स्थानीय मेडिकल र स्वास्थ केन्द्रमा उपचार भइरहेको र ४ जनालाई विराटनगर रेफर गरिएको जानकारी दिनुभयो । 


प्रतिक्रिया