सिरहामा थप ११ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५ पुग्यो

जेष्ठ १७, २०७७ | सिरहा

सिरहामा शनिबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित एघारै जना भारतको हरियाणा, बैंगलोर लगायत स्थानबाट आएकाहरु हुन् । 

लहान नगरपालिकाका ८ जना, धनगढीमाई नगरपालिकाका २ र कल्याणपुर नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । योसँगै जिल्लामा कोरोनाबाट संक्रमितको संख्या २५ पुगेको छ ।

संक्रमित ११ जना भारतका विभिन्न स्थानबाट आई आ–आफ्ना नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको जेठ ११ र १२ गते पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थियो । संक्रमित सबैलाई आइशोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य प्रमुख यादवले जानकारी दिनुभयो । 

यसअघि जिल्लाको भगवानपुर गाउँपालिकामा ४, बरियारपट्टी गाउँपालिकामा ४, लक्ष्मीपुर पतारी, औरही, नवराजपुर र सखुवानन्कारकट्टी गाउँपालिकामा १/१ जना र जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत दुई प्रहरी हवल्दारमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवका अनुसार जिल्लामा संक्रमण पुष्टि भएका २५ मध्ये २१ जना भारतबाट घर आएकाहरु हुन् । भारतका विभिन्न स्थानमा रोजगारीका लागि गएका मजदुरहरु पछिल्लो समय घर आउने क्रम बढेकाले संक्रमितको संख्या अझै बढने अनुमान गरिएको छ ।


प्रतिक्रिया