पाल्पामा तीन जनामा कोरोना भाइरस संक्रमण

जेष्ठ १८, २०७७ | पाल्पा

पाल्पामा तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । माथागढी गाउँपालिकाको क्वारेन्टिनमा बसेका १८ वर्षीय पुरुष र रैनादेवी छहराको क्वारेन्टिनमा बसेका ३८ र ४० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।

उनीहरु हालैमात्र भारतबाट आएका हुन् । एक साता अघि तानसेन बतासेडाँडाको होल्डिङ क्वारेन्टिनमा बसेका उनीहरुमध्ये माथागढीका संक्रमितको बतासेमै स्वाब लिएर पठाएको हो । रैनादेवी छहराको भने गाउँमै स्वाब लिइएको थियो ।

आइतबार बेलुकी प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाद्धारा जारी रिपोर्टमा उल्लेख गरेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । माथागढीका युवालाई सोमबार र रैनादेवीछहरामा देखिएकालाई आइतबार राती या सोमबार बिहान आइसोलेशन कक्षमा ल्याइने प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । उनीहरुलाई तानसेनको मिसन अस्पताल नजिकै निर्माण गरेको वृद्धाश्रम भवनको आइसोलेसन कक्षमा राखिने भएको प्रजिअ सुवेदीले बताए ।

एक जना माथागढीकै र दुई जना रैनादेवी छहराको क्वारेन्टाइनमा थिए । थप कन्ट्याक्ट ट्रेसिङ लगायतका काम सुरु भइसकेको छ । जिल्लामा पहिलो पटक कोरोना भाइरस संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म २ सय ७४ जनाको पिसिआर विधिबाट परीक्षणका लागि भैरहवा पठाएपनि २ सय ५७ जनाको परीक्षण गर्दा तीन जना पोजेटिभ देखिएको हो भने १४ वटा पेन्डिङमा रहेको छ । 


प्रतिक्रिया