सल्यानका थप १० जनामा कोरोना संक्रमण पुष्टि

जेष्ठ १९, २०७७ | सल्यान

सल्यानका थप १० जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको सख्या ३५ पुगेको छ । संक्रमित हुनेहरु सबै भारतबाट आएका र बन्गाड कुपिण्डे नगरपालिकाको विभिन्न क्वारेनटाईनमा बस्दै आएकाहरु रहेका छन् । 

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पीसीआर विधिबाट गरिएको परीक्षणमा १० जनामा संक्रमण देखिएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार बन्गाड कुपिण्डे नगरपालिका–१ का दुई, वडा नं ३ का दुई, ५ का तीन, ६ का एक र ७ का दुई गरी १० जनामा कोरोना संक्रमण देखिएको हो । 

संक्रमितहरु २० देखि ४० वर्ष उमेर समूहका छन् । क्वारेनटाईनमा बसेकामा कोरोनाको संक्रमण देखिन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको र अहिले नेपाली सेना खटाईएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । 

संक्रमितलाई उपचारका लागि बाहिर लैजान कठिनाई भएपछि नगरपालिका भित्र आईसोलेसन कक्ष बनाउन सामग्रीको अभावका कारण समस्या भएको नगरप्रमुख गोबिन्द कुमार पुनले बताउनुभयो । नगरपालिकाले विभिन्न क्वारेनटाईनमा बसेका आठ सय बढीको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरी सुर्खेत पठाईएको थियो । 


प्रतिक्रिया