पाल्पाका २ संक्रमितलाई आइसोलेशन कक्षमा ल्याइयो

जेष्ठ १९, २०७७ | पाल्पा

कोरोना भाइरसको संक्रमण देखिएका पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको छहरा क्वारेन्टाईनमा बसेका दुई जनालाई आइतबार राति नै तानसेनको आइसोलेशन कक्षमा ल्याइएको छ । रैनादेवी छहराको भैरव नवदीप क्वारेन्टाईनमा बसेका ३८ र ४० वर्षीय पुरुषलाई तानसेन भुषाल डाँडास्थित वृद्धाश्रममा निर्माण गरिएको आइसोलेशन कक्षमा ल्याइएको हो ।

माथागढीको बहादुरपुर क्वारेन्टाईनमा बसेका १८ वर्षीय युवालाई भने सोमबार बिहानसम्म ल्याउने सवारी साधन व्यवस्थापन गर्न नसकिएको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताउनुभयो । उहाँका अनुसार सवारी साधनले ल्याउन नमान्दा समस्या भएको छ । रैनादेवी छहराका संक्रमण पुष्टि भएकालाई भने पाल्पा अस्पतालको एम्बुलेन्स लगेर ल्याइएको हो । माथागढीको बहादुरपुर धेरै टाढा भएको र राति पानी परेकाले थप समस्या भएको हो ।

आइतबार बेलुकी प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । तीनै जना साता अघि मात्रै भारतबाट आएका हुन् । साताअघि तानसेन बतासे डाँडास्थित होल्डिङ क्वारेन्टाईनमा बसेका उनीहरुमध्ये माथागढीका संक्रमितको क्वारेन्टाईनमा स्वाब लिएर पठाएको हो । रैनादेवी छहराको भने गाउँमै स्वाब लिइएको थियो ।

रैनादेवी छहरामा संक्रमण पुष्टि भएकाहरुको स्वाब लिएपछि पनि ६० जना भन्दा बढीसँग घुलमेल भएको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार क्वारेन्टाईनको दुई ब्लक रहेको र एउटा ब्लकका सबैसँग घुलमेल भएका थिए । संक्रमण पुष्टि भएकाहरुसंगै २६ जनाको स्वाब लिइएको थियो । 

माथागढी गाउँपालिकामा पुष्टि भएका संक्रमित कसेनी र रहवासको क्वारेन्टाईनमा दुई/दुई दिन बसेर गएका हुन् । अहिले बसेको क्वारेन्टाईनमा २४, कसेनीमा २४ र रहवासमा २५ जनासंग उनी घुलमेल भएका छन् । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेका अनुसार कहाँ कहाँ घुलमेल भएका छन् भन्ने कन्ट्याक्ट ट्रेसिङको काम अघि बढेको छ ।     


प्रतिक्रिया