सुदूरपश्चिमका प्रदेशसभा सदस्यद्वारा आरडीटी परीक्षण बन्द गर्न माग

जेष्ठ २५, २०७७ | धनगढी

सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठकमा प्रदेशसभा सदस्यहरुले र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) को नतिजाले अन्यौल सिर्जना गराएको भन्दै बन्द गर्न माग गरेका छन् । 

प्रदेशसभा सदस्य दीर्घ सोडारीले आरडीटीका रिपोर्ट नेगेटिभ देखिएपछि घर पठाइएकाहरुमा पीसीआर विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिने गरेकोमा संक्रमण फैलने जोखिम बढ्दै गएको बताउनुभयो । 

‘मृत्यु र अन्त्येष्टि पछि पीसीआर रिपोर्ट पोजेटिभ आएको धनगढीको घटनाले समाजमा भयावह अवस्था सृजना गरेको छ,’ सांसद सोडारीले भन्नुभयो, ‘आरडीटी बन्द गरेर पीसीआर परीक्षणमा जोड दिनुपर्छ ।’ 

प्रदेशसभा सदस्य भरतबहादुर खड्काले आरडीटीको कुनै अर्थ नभएकाले उक्त विधिलाई बन्द गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘पीसीआर परीक्षणको दायरा बढाउनु पर्छ ।’ प्रदेशसभा सदस्य पूर्णा जोशीले क्वारेन्टिनहरु ब्यवस्थित नभएको र मृत्यु घरमा परिणत भइरहेको भन्दै पीसीआर परीक्षणको दायरा बढाउन र आरडीटी बन्द गर्न माग गर्नुभयो ।

सुदूरपश्चिममा तीन दिनदेखि थ्रोट स्वाब संकलन कार्य रोकिएको छ । धनगढीमा रहेको एउटा मात्रै मेसिनले भार थेग्न नसक्ने अवस्था आएको जनाउँदै पाँच दिनका लागि संकलन कार्य रोकिएको छ ।

शुक्रबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा डायलसिसका क्रममा मृत्यु भएकी एक महिलामा आरडीटी नेगेटिभ देखिएको थियो । सोही आधारमा परिवार तथा आफन्तजनले क्रियाकर्म गरेका थिए । तर, शनिबार उनको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि गाउँलेहरु भयभित भएका थिए । 

जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गत खटिएका स्वास्थ्यकर्मीहरुले उनको मलामीमा खटिएका ४९ जनाको ट्रेसिङ गर्नुका साथै उनी बस्ने टोललाई सिल गरेको थियो । 


प्रतिक्रिया