कोरोना संक्रमित राख्नका लागि पाल्पामा आइसोलेशन कक्ष तयार

जेष्ठ २८, २०७७ | पाल्पा

कोरोना भाइरस पोजेटिभ देखिएका संक्रमित राख्न पाल्पाका विभिन्न स्थानमा २ सय ४८ बेडको आइसोलेशन कक्ष तयार भएको छ । 

१० स्थानीय तहको समन्वयका साथै लुम्बिनी मेडिकल कलेज, रामपुर अस्पताल, पाल्पा अस्पताल, मिसन अस्पतालको सहकार्यमा आइसोलेशन कक्ष तयार भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो । 

तानसेन नगरपालिका, तिनाउ, माथागढी, बगनासकाली गाउँपालिकाको सहयोगमा पाल्पा अस्पताल, मिसन अस्पतालको समन्वयमा तानसेनको वृद्धाश्रम, भुषाल डाँडा मावि र नर्सिङ क्याम्पसमा १ सय ३० बेडको आइसोलेशन कक्ष तयार भएको छ । 

रामपुर नगरपालिका र निस्दीको समन्वयमा रामपुरको शहिद बहुमुखी क्याम्पसमा ५० बेडको आइसोलेशन कक्ष तयार भएको छ । पूर्वखोला, रम्भा गाउँपालिकाको सहयोग र ताँहु प्राथमिक स्वास्थ्य केन्द्रको समन्वयमा रम्भा माविमा २० बेडको आइसोलेशन कक्ष तयार भएको छ । 

रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको सहयोग प्राथमिक स्वास्थ्य केन्द्र खस्यौलीको समन्वयमा कुसुमखोलाको भवानी माविमा २० बेड तयार भएको छ । लुम्बिनी मेडिकल कलेजले कोभिड सेन्टरका लागि भवन छुट्याएको छ र त्यसमा २८ बेडको आइसोलेशन कक्ष तयार गरेको जनाएको छ ।

आईसोलेसनमा बेडसँगै छुट्टै शौचालय, नुहाउने स्थान, शुद्ध पिउने पानी, क्यान्टिनको व्यवस्था, मोबाइल चार्ज तथा पानी तताउन विद्युत लाइन जडान, इन्टरनेट, आवश्यक सञ्चारका लागि इन्टरफोन जडान, निगरानीको लागि सिसिटीभी क्यामेरा जडान गरिएको छ । 

रामपुरमा दुई, तानसेनमा ६, लुम्बिनी मेडिकल कलेजमा २ जनाको आइसोलेशन कक्षमा उपचार भइरहेको जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले बताउनुभयो । 


प्रतिक्रिया