पीडितलाई राहत दिने सहमतिपछि शव पोष्टमार्टमको तयारी

पाँच जनाको सामूहिक हत्या भएपछि शोकमा डुबेका रूपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवाका मृतकका आफन्त र गाउँले । 

जेष्ठ २८, २०७७ | रूपन्देही

सामूहिक हत्या गरिएका रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवाका चार परिवारलाई तिलोत्तमा नगरपालिका र फर्म सञ्चालकले राहत दिने भएको छ । 

स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, प्रहरी र पीडितका पक्षबीच आज भएको छलफलमा नगरपालिकाले प्रति परिवार २५ हजार रुपैयाँ र गंगा देवी पशु फर्म सञ्चालक कृष्णबहादुर पुनको तर्फबाट प्रति परिवार १ लाख रुपैयाँ राहत दिने सहमति भएको हो । 

नगरप्रमुख बासुदेव घिमिरले सहमतिमा पीडितका परिवारले हस्ताक्षर गरेर नै पोष्टर्माटम गरी शव बुझ्ने तयारी गरेको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले तत्कालै र फर्म मालिकले २० दिन भित्र पीडित परिवारलाई राहत उपलब्ध गराउने छन् । 

क्षतिपूर्तिको माग गर्दै पोष्टमार्टमका लागि स्वीकृती नदिएपछि हिजो देखि नै शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । सहमतिमा पीडित परिवारका तर्फबाट चारै परिवारका आफन्त उपस्थित थिए । 

प्रहरी, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिबीच छलफल गरेर सहमतिमा पुगेको नगरपालिकाका कार्यकारी प्रमुख माधव शर्माले बताउनुभयो । तिलोत्तमा नगरपालिका–१० मैनहवास्थित गंगा पशुपन्क्षी फार्ममा गत सोमबार राति एक व्यक्तिले ५ जनाको सामूहिक हत्या गरेका थिए । 

हत्या गरेको आशंकामा सुर्खेतको लेकबेंशी नगरपालिका–५ नेटा स्थायी घर भई मैनहवामा बस्दै आएका ३२ वर्षीय झसेन्द्रबहादुर सिंजालीलाई प्रहरीले निन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । 

रूपन्देहीको सैनामैना नगरपालिका–५ दरखासी स्थायी घर भएर ७ वर्षदेखि तिलोत्तमा नगरपालिका–१० मा बस्दै आएका ४० वर्षीय माधव मुसहर उनकी श्रीमती ३७ वर्षीया जानकी मुसहर, १४ वर्षीय पोखराज मुसहर, १७ वर्षीय करन चौधरी र आशिष चौधरीको हत्या भएको थियो । 

पीडित परिवारसँग सहमति भएकाले बुधवार नै शवको पोष्टमार्टम हुने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक प्रतीत सिंह राठौरले बताउनुभयो । 


प्रतिक्रिया