भारतीय सेना प्रमुखले भने, ‘नेपाल र भारतबीच अत्यन्त घनिष्ठ सम्बन्ध थियो र रहिरनेछ’

जेष्ठ ३१, २०७७ | नयाँ दिल्ली

भारतका सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपाल र भारतबीच घनिष्ट सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहने बताउनु भएको छ । 

भारतले लिपुलेक क्षेत्रमा एक तर्फीढंगले सडक निर्माण गरेको विषयलाई लिएर नेपालले गरिरहेको विरोध विदेशीको ईशारामा भएको भनेर विवादास्पद टिप्प्णी गरेका भारतीय सेना प्रमुख नरवणेले आफ्नो यसअघिको भनाईलाई केही सच्याउँदै दुई देशबीच घनिष्ट सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहने बताउनु भएको हो । 

देहरादुनस्थित भारतीय सैनिक एकेडेमीमा आयोजित एक कार्यक्रममा नेपाल र भारतबीचको पछिल्लो सीमा विवादलाई लिएर राखेको जिज्ञासामा नरवणेले त्यस्तो धारणा राख्नु भएको हो ।

‘हामीहरुको नेपालसँग अत्यन्त घनिष्ट सम्बन्ध छ । हामीहरुबीच भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र परम्परागत सम्पर्क छ । जनस्तरमा पनि त्यत्तिकै बलियो सम्पर्क छ । हामी बीचको सम्बन्ध सँधै बलियो रहँदै आएको छ र भविष्यमा पनि रहिरहनेछ’ भारतीय नवरवणेलाई उद्धृत गर्दै भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघि २ जेठमा भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले चीनतर्फ संकेत गर्दै सीमा सम्बन्धमा यसअघि कुनै विवाद नरहेकोमा नेपालले ‘अरु कसैको इसारामा’ विरोध गरेको बताउनु भएको थियो । नयाँ दिल्लीस्थित सुरक्षा तथा रणनीतिक मामिलाको सरकारी थिंक ट्यांक मनोहर पारेकर रक्षा अध्ययन तथा विश्लेषण संस्थान (एमपीआइडीएसए) ले गरेको बेवनारमा नवरवणेले त्यस्तो भनाई राखेका थिए ।

नरवणेको सो टिप्पणीप्रति नेपाल सरकार र जनस्तरबाट समेत कडा विरोध हुँदै आएको छ । यता, भारतमा पनि त्यसप्रति असन्तुष्टि व्यक्त गरिएको थियो । भारतीय सेना प्रमुख नेपाली सेनाका समेत मानार्थ जनरल समेत रहने परम्पराका कारण पनि दुई देशबीचको विवादित मुद्दामा नरवणेले अनावश्यक रुपमा टिप्पणी गरेको भन्दै आलोचना भएको थियो ।

भारतले २६ वैशाख नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्रयाकको उद्घाटन गरेयता नेपाल र भारतबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । भारतका रक्षा मन्त्री राजनाथ सिंहले शुक्रवार भिडियो कन्फरेन्स मार्फत् पिथौरागढबाट लिपुलेक जोड्ने करीब ८० किलोमिटर सडकको उद्घाटन गरेका थिए । 

यसबीच नेपालले सन् १८१६ को सुगौली सन्धीलाई आधार बनाएर लिम्पियाधुरा सम्मको भूभागलाई समेटेर नयाँ राजनीतिक नक्शा सार्वजनिक गरिसकेको छ । संविधान संशोधन प्रति विशेष चासो राखिरहेको भारतले नेपालले सार्वजनिक गरेको नक्शा आफूलाई आमान्य हुने बताउँदै आएको छ ।


प्रतिक्रिया