सीमा विवादलाई वार्ताबाट हल गर्ने समझदारीको उल्लंघन : भारत

जेष्ठ ३१, २०७७ | नयाँ दिल्ली

नेपाल सरकारले लिम्पियाधुरासम्मको भू-भागलाई समावेश गरी जारी गरेको नयाँ नक्शा निशान छापमा समेटन गरेको संविधान संशोधन प्रति भारतले असन्तुष्टि जनाएको छ । 

नेपालले संविधान संशोधन गर्दै सीमा विवादलाई वार्ताबाट हल गर्ने समझदारीको उल्लघंन गरेको भारतले प्रतिक्रिया दिएको छ । 

संघीय संसदको प्रतिनिधिसभाबाट सर्वसम्मतीले संविधान संशोधन गरेको केही बेरमै भारतीय विदेश मन्त्रालयका तर्फबाट त्यस्तो प्रतिक्रिया आएको हो । 

‘नेपालको ससंदले भारतको भूभाग समावेश गरिएको नयाँ नक्शाका लागि संशोधन विधेयक पारित भएको घटनालाई हामीले चासोका साथ हेरेका छौं र यसले दुबै देशबीच सीमा सम्बन्धी विवादित मुद्दालाई वार्ताद्वारा सुल्झाउने समझदारीको उल्लघंन गरेको छ’ विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवातस्तवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी, कृत्रिम तरिकाले भूभागको विस्तार ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएकाले सो नक्शा मान्य नभएको समेत भारतको भनाई छ । 

‘ऐतिहासिक तथ्य र प्रमाण बिना कृत्रिम तरिकाले भूभागको विस्तार गर्नु मान्य छैन’ श्रीवास्तवतले भनेका छन् । साथै, सीमा विवादका सम्बन्धमा आफ्नो पुरानै अडान कायमै रहेको समेत भारतले दोहोर्‍याएको छ । 

भारतले नेपालसँगको सीमा विवाद सम्बन्धमा छलफल गर्न गठित विदेश सचिवस्तरीय संयन्त्रको बैठक कोभिड–१९ महामारीपछि राख्न सकिने र त्यसका लागि नेपालका तर्फबाट सकारात्मक र रचनात्मक पहल हुनुपर्ने बताउँदै आएको छ ।  


प्रतिक्रिया