संक्रमित बोक्न सवारी नपाउँदा समस्या, तीन दिनदेखि क्वारेन्टाइनमै

असार २, २०७७ | पाल्पा

कोरोना संक्रमित बोक्न सवारी साधन नपाउँदा पाल्पाका स्थानीय तहका जनप्रतिनिधि हैरानी खेप्न बाध्य छन् । क्वारेन्टिनमा बस्नका लागि सुनौली र तानसेन लिन आउनेहरुले समेत अहिले कोरोना पोजेटिभ देखिएकालाई बोक्न नमानेका हुन् । जिल्लाका एम्बुलेन्स, बस, जिप लगायतले संक्रमित बोक्न नमान्दा जनप्रतिनिधिलाई समस्या परेको हो ।

तीन दिनअघि रम्भा गाउँपालिका–१, हुँगीको जनकल्याण मावि क्वारेन्टिनमा १६ जनालाई कोरोना भाइरस पोजेटिभ देखियो । तर, उनीहरुलाई रम्भा मावि ताँहु लैजान सोमबार हरप्रयास गरेपनि सफल हुन नसकेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । ‘सवारी साधन व्यवस्थापनका लागि धेरै प्रयास गरियो तर सम्भव नै भएन,’ उहाँले भन्नुभयो, ‘पहिला क्वारेन्टिनमा बोकेकाहरुलाई पनि भनियो । धेरै कुराकानी भयो । तर बोक्न मान्दैनन् ।’

रम्भामा मात्र होइन, पूर्वखोला गाउँपालिकाको जल्पा, बीरकोट लगायत स्थानमा सोमबार १० जना कोरोना भाइरस पोजेटिभ देखिए । संक्रमितलाई अन्यत्र लैजान पनि बस, जिप चालकले नमान्दा हैरानी खेप्नु परेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । क्वारेन्टिनमा बस्नेहरु लिन जान सजिलै मानेकाहरु पनि अहिले पोजेटिभ देखियो भनेपछि मानेको छैनन्,’ उहाँले भन्नुभयो, ‘धेरै पटक कुराकानी गरियो तर नमान्दा हैरान खेप्नु परेको छ ।’

रम्भा र पूर्वखोला गाउँपालिकामा मात्र होइन माथागढी, बगनासकाली, निस्दी, रामपुरमा कोरोना भाइरस पोजेटिभ देखिएकाहरुलाई सम्बन्धित स्थानको आइसोलेशनमै लैजान समस्या परेको छ । माथागढीको बहादुरपुरबाट संक्रमित तानसेन ल्याउन ठूलो सास्ती खेप्नु परेको गुनासो अध्यक्ष सन्तोष थापा मगरको छ । ‘यति धेरे सवारी साधनलाई कुरा गर्नु पऱ्यो कि भनेर साध्य लाग्देन,’ उहाँले भन्नुभयो, ‘सवारी साधन पाउन निकै मुश्किल नै भएको छ ।’

रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले रामपुरमा ५० बेडको आइसोलेशन निर्माण गरेका छन् । रम्भा र पूर्वखोलाले ताँहुमा २० बेड आइसोलेशन निर्माण गरेका छन् । तर जल्पा, बीरकोटबाट ताँहुको आइसोलेशनसम्म सवारी साधनबाट लैजान नसकिने अवस्था आएको छ । 

पूर्वखोला स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार के गर्ने भन्ने नै अन्योलको अवस्था आएको छ । अब सम्बन्धित क्वारेन्टिनमा सुधार गरेर आइसोलेशन बनाउनुपर्ने बाध्यता आइपर्न सक्ने उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वराज न्यौपानेले सवारी साधन व्यवस्थापन चुनौती भएको बताउनुभयो । 

पाल्पा अस्पतालको एम्बुलेन्सले रैनादेवी छहरा र रेडक्रस सोसाइटीको एम्बुलेन्सले माथागढी बहादुरपुर पुगेर संक्रमित ल्याएका थिए । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा रामपुर नगरपालिकामा दुई, निस्दीमा दुई, माथागढीमा १४, रैनादेवी छहरामा दुई, पूर्वखोलामा १२, रम्भामा १६, बगनासकालीमा एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । ब

गनासकालीका एक पुरुषको स्वास्थ्य स्थिति गम्भीर भएपछि कोरोना अस्थायी अस्पताल बुटवल रिफर गरिएको छ । जिल्लामा १ हजार बढी पिसिआर प्रविधिबाट स्वाब परीक्षणका लागि पठाइएको छ भने ६ सय बढीको रिपोर्ट आइसकेको छैन । भारतबाट फर्केका नागरिक २ हजार ५ सय बढी छन् । 


प्रतिक्रिया