फेवाताल जोगाउन ड्याम, ९५ प्रतिशत काम सम्पन्न

असार २, २०७७ | पोखरा

फेवातालको क्षेत्रफल साँघुरिदै गयो । गहिराई उकासिंदै आयो । सरसफाई भएन । ढुँगा, गिटी, बालुवा माटो जस्ता बस्तु तालमा नै आएर थुपारिए । वर्षातमा आउने बाढीका कारण फेवातालको क्षेत्रफल घट्दो क्रममा छ । 

पोखराको मात्र नभएर देशकै पहिचान झल्काउने फेवाताल कुरुप बन्दै गएपछि यसको सौन्दर्य जोगाउन ड्याम निर्माणको कार्य सुरु गरियो । फेवातालमा ग्राभेल नपुगोस, पुरिन र साँघुरिने क्रम रोक्नको निमित्त फेवातालको मुहानमा नै विभिन्न खालका चेक ड्याम, रिभेटमेन्ट, लन्चिङ एप्रोन र सिल्टपोखरी निर्माण भएका छन् ।

अँधेरीखोला, हर्पनखोला, बेत्यानीखोला र लौरुकखोलामा गरी ४ वटा ड्याम निर्माणधीन अवस्थामा छन् । चारवटा ड्याम निर्माणको लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरको साझा योजना हो । अँधेरीखोला, हर्पनखोला र बेत्यानी खोलाको ड्याम निर्माणको कार्य ९५ प्रतिशत सकिएको छ । 

लौरुक खोलाको ७० प्रतिशत काम सम्पन्न भएको योजनाको प्रत्यक्ष रेखदेख गर्दै आएका पोखरा महानगरका इन्जिनियर विमल आचार्यले बताउनुभयो । इन्जिनियर आचार्यका अनुसार २८ करोड १६ लाख ११ हजार रुपैयाँको सम्झौता रकममा निर्माण गर्न लागिएको सो ड्यामको लागि गण्डकी प्रदेश सरकार र महानगरले ५०/५० प्रतिशत लगानी गरेका छन् ।

फेवाताल जलाधार क्षेत्र संरक्षण आयोजनाको अनुमानित रकम भने ३३ करोड ६० लाख ६८ हजार रुपैयाँ छ । अँधेरी खोलाको सम्झौता रकम ९ करोड ६ लाख ४ हजार, हर्पन खोलाको सम्झौता रकम ७ करोड ८८ लाख ६२ हजार, लौरुक खोलाको सम्झौता रकम ५ करोड ७४ लाख ८४ हजार र बेत्यानी खोलाको सम्झौता रकम ५ करोड ४६ लाख ५८ हजार रुपैयाँ रहेको छ । 

अधेरी, हर्पन र लौरुकको निर्माण कार्यको जिम्मा खड्का कृष्ण पीके जेभी र बेत्यानीको गीता जय नेपाल इश्वर जेभी कम्पनीले लिएका छन् । २०१९ सेक्टेम्भरमा सम्झौता भएका यी योजनाको सम्पन्न हुने मिति २०२१ जनवरी हो ।

इन्जिनियर आचार्य भन्नुहुन्छ, ‘४ वटै ड्याममा वर्षेनी २ लाख ५६ हजार घनमिटर ग्राभेल जम्मा हुन्छ । यदी ड्याम नभएको भए उक्त ग्राभेल सीधै फेवातालमा जाने हो । जसले गर्दा ताल पुरिँदै जान्छ र साँघुरिदै पनि ।’

अँधेरीको ड्यामको लम्बाई १०० मिटर छ । जुन बीचको भाग हो । छेउछेउमा ८२ र ८३ मिटर लम्बाई छ । सबै ड्याम यू आकारमा निर्माण भएका छन् । जसको उचाई बीचमा ४.१ र छेउछेउमा ४.५ रहेको छ । हर्पन खोलाको बीचको भाग ९१ मिटर लम्बाई छ भने दायाँतर्फ ९६ र बायाँतर्फ ११६ मिटर छ । बायाँतर्फ वस्ती भएकाले पनि बढी उचाई राखिएको इन्जिनियर आचार्यले बताउनुभयो । 

बेत्यानीको ४० मिटर लम्बाई बीचको भाग छ । छेउछेउमा ६०/६० मिटरको लम्बाई छ । बीचको भाग ३ मिटर उचाई छ भने एकतर्फ ४ मिटर र अर्कोतर्फ वस्ती भएकाले ४.५ मिटर लम्वाई राखिएको छ । लौरुक खोलाको ४३ मिटर बीचको लम्बाई छ भने छेउछेउको ५०/५० मिटर छ । यसैगरी, ३ मिटरको बीचमा उचाई राखिएको छ भने, छेउछेउको उचाई ४/४ मिटरको छ ।

उहाँले भन्नुभयो, ‘सिल्ड ग्राभेल फेवातालमा आएर फेवाताल पुर्ने काम भएकै कारण त्यसलाई हटाउन मुहानमा आउने ग्राभेल रोक्ने पोखरी, स्पर जस्ता विभिन्न निर्माण गरिएको हो ।’

लकडाउनमा सुरुवाती दिनमा १ महिना काम गर्न नसकिएको बताउदै उहाँले भन्नुभयो, ‘योजनाका कामदार कोरोना भाइरसको क्रासका कारण घर फर्किए । एक महिनापछि पुन: विस्तारै केही कामदार आए । 

स्थानीय कामदारलाई पनि प्रयोग गरियो । जसका कारण निर्माण कार्य रोक्नु परेन ।’ स्थानीय विष्णु दाहालले यसरी फेवातालको संरक्षण गर्नु नै पोखराको अस्तित्व जोगाउनु रहेको बताउनुभयो । फेवाताल संरक्षणको लागि यसरी ड्याम निर्माण गर्ने कार्य उत्कृष्ट रहेको उहाँको भनाई छ ।

सो ड्यामहरुको गण्डकी प्रदेश सभा अन्तर्गत अर्थ तथा विकास समितिले अनुगमन गरेको छ । आर्थिक वर्ष सकिन १ महिना बाँकी रहँदा निर्माण कार्य तीब्र गतिमा लैजान समितिले निर्देशन दिएको छ । 

समितिका सभापति दीपक कोइरालाको नेतृत्वमा गएको अनुगमन टोलीले लकडाउनको समयमा पनि धमाधम काम भएकाले तोकिएको मितिमा नै निर्माण सम्पन्न हुने बतायो । सभापति कोइराला भन्नुहुन्छ, ‘अन्य विकास निर्माणको योजनाको काम ठप्प रहँदा यहाँ भने रोकिएको छैन । धमाधम काम भइरहेको छ । तर, पनि केही समस्या छ की भनेर बेला बेलामा अनुगमन गरेका छौ ।’

उहाँले फेवाताल संरक्षण गर्न ड्यामको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । टोलीले कामदार, ठेकेदार, प्राविधिक र स्थानीयसंग भेटघाट गरेको थियो । सोमबार मात्रै प्रस्तुत गरेको गण्डकी सरकारले आगामी वर्ष २०७७/७८ को वार्षिक बजेटमा समेत सो योजना समावेश गरेको छ । 

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत फेवाताल संरक्षणको लागि १० वटा ड्याम निर्माण गर्ने योजना छ । पहिलो चरणमा ४ वटा मात्रै ड्याम निर्माण थालिएको पर्यटन मन्त्री विकास लम्सालले जानकारी दिनुभयो । 


प्रतिक्रिया