सल्यानका ४१ जना कोरोना संक्रमण मुक्त भई घर फर्किए

असार २, २०७७ | सल्यान

कोरोना भाईरसबाट संक्रमित भएर उपचार गराई रहेका सल्यानका ४१ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । सल्यान बहुमुखी क्याम्पस लुहापिङ्गको आईसोलेसनमा उपचार गराई रहेका ३६ र जिल्ला अस्पताल सल्यानबाट पाँच जना मंगलबार घर फर्किएका हुन् । 

घर फर्कनेमा बन्गाड कुपिण्डे नगरपालिकाका ३५ र दार्मा गाउँपालिकाका ६ जना रहेका छन् । स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरका अनसार कोरोना संक्रमण मुक्त भएर घर फर्किएका ४१ जना मध्ये ४० पुरुष र एक महिला छन् । उनीहरुको पीसीआर रिर्पोट नेगेटिभ आएपछि घर फकाईएको हो । 

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका, दार्मा, कुमाख र कपुरकोट गाउँपालिकामा गरी अहिलेसम्म एक सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । उपचारपछि संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ५४ जना पुगेको उहाँले जानकारी दिनुभयो । 

‘कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि लगिएका बन्गाड कुपिण्डे नगरपालिकाका ११ जना सोमबार र दुई जना केही दिन अघि गरी १३ जना ठिक भएर घर फर्किसकेका छन’ उहाँले भन्नुभयो, ‘घर फर्किएका र संक्रमित देखिएका थप अन्यको अबस्था सामान्य रहेको छ । घर फर्किएकाहरु एक साता होम आईसोलेसनमा बस्ने छन ।’

बहुमुखी क्याम्पस सल्यानको आईसोलेसनमा ९९ जना र जिल्ला अस्पतालको आईसोलेसनमा १२ जना संक्रमितको उपचार भईरहेको छ । उपचाररत एक सय ११ मध्ये ७० जनाको रिपोर्ट दोसो पटक पोजेटिभ आएपनि उनीहरुको स्वास्थ्यमा कुनै समस्या नदेखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार दुई दिनभित्र रिर्पोट पोजेटिभ आएकाहरुको पुन: पीसीआर परीक्षण गरिने छ । 


प्रतिक्रिया