रुकुम पश्चिम घटनाका ९ आरोपीको बयान सकियो

रुकुम जिल्ला अदालत, रुकुम पश्चिम । फोटो : महेश केसी/रेडियो कान्तिपुर  

असार २, २०७७ | रुकुम पश्चिम

रुकुम चौरजहारी नगरपालिका–१० सोती गाउँमा ६ जनाको ज्यान जाने गरी भएको घटनाको अभियोग लागेका आरोपीहरु मध्ये ९ जनाको बयान सकिएको छ । 

सो घटनाका ३४ आपोपी मध्ये मंगलबार ९ जनाले रुकुम जिल्ल्ला अदालतमा बयान दिएको श्रेष्तेदार कृतबहादुर बोहराले बताउनुभयो । 

कुल आरोपी ३४ जनामध्ये ३३ जनालाई कर्तव्यज्यान, ज्यान मार्ने उद्योग, जातिय भेदभाव र छुवाछुत कसुरको अभियोग लगाईको छ । 

बाँकी एक जनालाई मतियारको अभियोग सहित जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमले गत आईतबार जिल्ला अदालतका अभियोग दर्ता गरेको थियो । 

आरोपी मध्ये दुई जना नाबालकको थुनछेक बहस पश्चात पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउने आदेश सोमबार नै गरिसकेको छ । ५ जना फरार छन् ।

फरार ५ जना र २ जना नाबालक तथा मंगलबार बहस सकिएका ९ जना बाहेक अब बाँकी १८ जनाको पनि बयान भोलि र पर्सिसम्ममा सक्ने तयारी भईरहेको श्रेष्तेदार बोहराको भनाई छ । 

फरार ५ जनाको पनि खोजी कार्य तीब्र रुपमा भैरहेको प्रहरीले बताएको छ । आरोपीहरुको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ ।

सोतीकी १७ वर्षीया एक मल्ल थरकी एक किशोरीकी प्रेमी सहित जाजरकोट तर्फबाट आएका युवा गत जेठ १० गते स्थानीयको आक्रमणमा परेका थिए । जसमा ६ जनाको ज्यान गएको थियो । 

किशोरीका प्रेमी भनिएका नवराज विकसहित अरू ५ जनाको भेरी नदीमा शव भेटिएको थियो ।


प्रतिक्रिया