पोष्टमार्टम रिपोर्ट गलत भएको भन्दै प्रर्दशन

असार २, २०७७ | रुकुम पश्चिम

रुकुम पश्चिम घटनामा मारिएका ६ जनाको पोस्टमार्टम रिर्पोर्ट गलत आएको भन्दै जाजरकोटको खलंगामा स्थानीयले आज पनि प्रदर्शन जारी राखेका छन् । 

प्रदर्शनकारीले मृतक ६ जनाको पोस्टमार्टम रिपोर्ट यसअघि मिडियामा आएको जस्तो मारेर फालिएको भन्ने नभएपछि झुटो रिपोर्ट सार्वजनिक गरिएको भन्दै सोमबारदेखि प्रर्दशन गरिरहेका छन् । 

पहिलो दिन स्वास्थ्य सेवा कार्यालय परिसरमा प्रदर्शन गरेका स्थानीयले आज भने सदरमुकाम खलंगा बजारका मुख्य चोकमा विरोध गरेका थिए । 

प्रदर्शनलाई नियन्त्रण भन्दा बाहिर जान नदिएको जाजरकोट प्रहरीका प्रहरी प्रमुख डीएसी किशोर कुमार श्रेष्ठले बताउनुभयो ।

सोतीकी १७ वर्षीया एक मल्ल थरकी किशोरीका प्रेमी सहित जाजरकोट तर्फबाट आएका युवा गत जेठ १० गते स्थानीयको आक्रमणमा परेका थिए । जसमा ६ जनाको ज्यान गएको थियो । 

किशोरीका प्रेमी भनिएका नवराज विक सहित अरू ५ जनाको भेरी नदीमा शव भेटिएको थियो ।

घटनामा संलग्न भएको आरोप सहित कुल ३४ जनामध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातिय भेदभाव र छुवाछुत कसुरको अभियोग लगाईको छ । 

बाँकी एक जनालाई मतियारको अभियोग सहित जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमले गत आईतबार जिल्ला अदालतका अभियोग दर्ता गरेर अदालती प्रक्रिया अघि बढिसकेको छ । 


प्रतिक्रिया