रुकुम पश्चिम घटनाका आरोपी उपर थुनछेक बहस सुरु

रुकुम जिल्ला अदालत, रुकुम पश्चिम । फोटो : महेश केसी/रेडियो कान्तिपुर  

असार ५, २०७७ | रुकुम पश्चिम

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती घटनामा आरोपीहरुमाथि थुनछेक बहस सुरु भएको छ । 

बिहीबार सोती घटनाका आरोपी सबैको बयान सकिएपछि शुक्रबार आजबाट रुकुम जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले बताउनुभयो । 

घटनामा संलग्न भएको आरोपमा गत जेठ ३२ गते जिल्ला सरकारी वकिल कार्यालयले ३४ जना विरुद्ध जिल्ला अदालतमा अभियोग दर्ता गरेको छ । 

३३ जनालाई आजीवन कारावासको माग सहित अभियोग दर्ता गरिको छ । जसमध्ये २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने ५ जना फरार छन् । 

३४ मध्ये १ जनालाई मतियार र बाँकीलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातिय छुवाछुत सम्बन्धीको अभियोग लागेको छ । 

अभियोग लागेका मध्ये २ जना नाबालकको थुनछेक बहस पछि गत सोमबार नै अदालतले पुर्पक्षका लागि बाल सुधार गृहमा राख्न आदेश गरिसकेको छ । 

गत जेठ १० गते चौरजहारी नगरपालिका–८, को सोती गाउँमा जाजरकोटबाट आएका युवाहरुमाथि गाउँलेले कुटपिट गरेका थिए । 

कुटपिटबाट जाजरकोटका ५ र रुकुम पश्चिमका १ जनाको ज्यान गएको थियो । 


प्रतिक्रिया