बाढीले सुख्खा बन्दरगाह र रसुवागढी जलविद्युत आयोजनामा क्षति

 फोटो: आयोजनाका प्रशासकीय प्रमुख टिका पौडेल ।

असार ७, २०७७ | रसुवा

आइतबार बिहान भोटेकोशी नदीमा आएको बाढीले सुख्खा बन्दरगाह र रसुवागढी जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ ।

गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण भइरहेको सुख्खा बन्दरगाह र रसुवागढी जलविद्युत आयोजनामा बाढीले क्षति पुर्‍याएको हो । सुख्खा बन्दरगाह निर्माणका लागि प्रयोग गरिएको तीनवटा सवारी साधनमा क्षति पुगेको राजस्व तथा भन्सार सुरक्षा गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापा मगरले बताउनुभयो । 

आइतबार बिहान करिब ३ बजेतिर आएको बाढीले टिप्पर, स्काभेटर र लोडरमा क्षति पुर्‍याएको छ । त्यस्तै कामदार बस्ने घरको पछाडिको भागमा समेत क्षति पुगेको छ । सुख्खा बन्दरगाह भोटेकोशी नदीको किनारामा निर्माण भइरहेको छ । अहिले नदिमा पानीको सतह घटेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । 

बाढीले रसुवागढी जलविद्युत आयोजनाको ड्याम साइड र आयोजना स्थलमा जाने पुलमा समेत क्षति गरेको आयोजनाका प्रशासकीय प्रमुख टिका पौडेलले बताउनभुयो । अविरल वर्षा संगैको पहिरोले पासाङ ल्हामु मार्ग र मैलुङ स्याफ्रुबेसी सडक खण्डको विभिन्न स्थानमा अवरुद्ध भएको छ । 

पासाङ ल्हामु मार्गको ठुलो भार्कु, सुानु भार्कु, राम्चे र स्याउबारीमा खण्डमा पहिरो गएको छ । मैलुङ–स्याफ्रुबेसी सडक खण्ड बुधबारदेखि नै अवरुद्ध छ । अवरुद्ध सडकखण्डहरू खुलाउने काम अघि बढिसकेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो ।


प्रतिक्रिया