भक्तपुरको ङातापोल मन्दिर ३ सय १९ वर्षमा प्रवेश

तस्बिर सौजन्य : भक्तपुर नगरपालिका 

असार ८, २०७७ | भक्तपुर

विश्व सम्पदामा सुचीकृत भक्तपुरको पाँचतले (ङातापोल) मन्दिर ३ सय १९ वर्षमा प्रवेश गरेको छ । मन्दिरको ३ सय १८ वर्ष पूरा भई ३ सय १९ प्रवेशको अवसरमा मन्दिरमा विशेष पूजा गरी गजुरमा झण्डा फहराइएको छ । 

प्रत्येक वर्ष असार शुक्ल प्रतिपदाको दिनलाई पाँचतले मन्दिर जन्मोत्सव मनाइएर विशेष पूजा गरी मन्दिरको गजुरमा झण्डा फहराइने परम्परा छ । सेतो कपडामा रातो चन्द्र आकार भएको ठूलो झण्डा फहराइएको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण न्यूनिकरणका लागि सीमित व्यक्तिको उपस्थितिमा सामान्य पूजा गरेर झण्डा फहराएको पुजारी पदम कर्माचार्यले बताउनुभयो । यसअघि पूजामा बोका बली दिने परम्परा रहेको थियो ।

पाँचतले मन्दिरमा राजोपाध्याय, कर्माचार्य, जोशी र ताल्चाभडेल पुजारीहरुले पूजा गर्ने परम्परा छ । मन्दिरको गजुरमा तुछिमला टोलका अवालहरुले झण्डा फहराउने गर्दछन् । मन्दिरमा झण्डा राख्नको लागि तुछिमलाको अवालबाहेक अरुलाई मन्दिर माथि प्रवेश नदिने परम्परा रहेको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्र जोशीले बताउनुभयो ।

नेपाल सम्वत ८२२ राजा भूपतिन्द्र मल्लले सिद्ध अग्नी कोत्याहुती होम लगाएर श्री सिद्धिलक्ष्मी देवीलाई पाँचतले मन्दिरमा प्रतिस्थापना गरी झण्डा फहराइएको इतिहासमा उल्लेख छ । सोही दिनको सम्झनामा प्रत्येक वर्ष असार शुक्ल प्रतिपदाका दिनलाई पाँचतले मन्दिरको जन्मोत्सवको रुपमा झण्डा फहराइने गरिन्छ ।

२०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पको धक्काले क्षति पुगेको पाँचतले मन्दिर जीर्णोद्धारको कार्य भईरहेको छ । भक्तपुर नगरपालिकाले जीर्णोद्धार थालेको सो मन्दिरको चौंथो तलासम्मको कार्य सम्पन्न भईसकेको छ ।


प्रतिक्रिया