नेकपा स्थायी कमिटी बैठक !

असार १०, २०७७ | काठमाडौं

मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका बारेमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज बस्दैछ । काठमाण्डौको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान ११ बजेका लागि बोलाईएको बैठकमा एमसीसीको बिषयसंगै सरकार र पार्टीको कामकारबाही बारे पनि छलफल हुने बरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो । 

अमेरिकी सहयोग परियोजना अघि बढाउने वा नबढाउने बिषयमा पार्टीभित्रै दुई धार बनेपछि नेकपाले स्थायी कमिटी बैठकबाट त्यसको टुंगो लगाउने गृहकार्य थालेको हो । बैठकको एजेण्डा तय गर्न हिजो दिनभर शिर्षतहमा छलफल भएपनि सहमतीको ठोस प्रस्ताव निर्माण हुन सकेको छैन् । बरिष्ठ नेता खनालले बैठक सुरु भएपछि मात्र एजेण्डाको बिषय जानकारीमा आउने बताउनुभयो ।

यथास्थितिमा एमसीसी पास गर्नुपर्ने अडानमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका नेता रहेपनि अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु परिमार्जनसहित पारितको पक्रियामा जानुपर्ने भन्दै नेतृत्वमाथि दबाव दिईरहेका छन् । 

सरकारको कामकारबाही र एमसीसीको बिषय पेचिलो बन्दै गएपछि यसअघि दुई पटक नेकपा स्थायी कमिटिको बैठक स्थगित भईसकेको छ । बैसाख २५ र ३१ गतेका लागि तय भएका बैठक अन्तिम समयमा स्थगीत भएका थिए । एससीसी संसदमा लैजानुपर्ने मिति नजिकिएको बेला यसैलाई मुख्य एजेन्डा बनाएर स्थायी कमिटी बैठक बोलाइएकाले दुवै पक्ष निर्णायक रणनीतिक र दवावमा छन् । 

एमसीसी कार्यान्वयनका लागि असार १६ सम्मको समयावधि रहेकाले त्यसअघि संसदबाट पास गराउनुपर्ने अवस्था छ । तर संसद बैठक नै १७ गतेका लागि बोलाईएपछि एमसीसी कार्यान्वयनको बिषय थप जेलिएको छ । 

बैठकमा आफू अनूकुल निर्णय नभए पनि एमसीसीलाई अनुमोदनका लागि संसदमा लैजाने प्रस्ताव पारित गराउने प्रधानमन्त्री एवं अध्यक्ष ओली समूहको तयारी छ । तर, अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टीभित्र निर्णय नगरी यसलाई संसदमा प्रवेश गराउन नहुने पक्षमा छन् ।  


प्रतिक्रिया