पहिरोले सिद्धार्थ राजमार्ग लगायत ग्रामीण सडक अवरुद्ध

वर्षाले पाल्पाको तानसेन–रिडी सडक अन्तर्गत सम्मोबारी नजिक खसेको पहिरो । तस्बिर : माधव अर्याल/कान्तिपुर  

असार १४, २०७७ | पाल्पा

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा नजिक ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 

गएराति देखिको अविरल वर्षाका कारण सडकमा ठूलो ढुंगासहितको पहिरो खसेको दोभान प्रहरी चौकी प्रमुख सोमबहादुर सारुले जानकारी दिनुभयो । 

सडकमा झरेको पहिरो पन्छ्याउन डोजर तयारी अवस्थामा राखेपनि वर्षा भइरहेकाले समस्या भएको उहाँले बताउनुभयो । 

सडक अवरुद्ध भएपछि राजमार्गको रुपन्देही र पाल्पा तर्फबाट गएका सवारी साधन बाटोमै अलपत्र परेका छन् । 

सिद्धार्थ राजमार्गको बर्तुङ नजिकै सडक चौडा गरेको स्थानका साथै गौडेपुल नजिक समेत पहिरो खसेको छ । तानसेन–रिडी सडकको सम्मेबारीमा समेत पहिरो खसेको छ । 

तानसेन–रामपुर सडक खण्डको निस्दी र पूर्वखोलाको सिमानामा पर्ने चापगैरामा पहिरो खसेर सडक अवरुद्ध भएको छ । 

सडक खुलाउन प्रहरी चौकी जब्गादीबाट टोली खटिएपनि वर्षा नरोकिएकाले समस्या भएको छ । वर्षासँगै ग्रामीण सडक समेत अवरुद्ध भएका छन् । 

वर्षेनी वर्षा लागेपछि मात्रै सडक चौडा गरिँदा पहिरो खस्ने क्रम बढेको छ ।


प्रतिक्रिया