१२ वर्षीया बालिकामा कोरोना संक्रमण, भक्तपुर क्यान्सर अस्पतालको एनएक्स वार्ड सिल

असार १४, २०७७ | भक्तपुर

भक्तपुर क्यान्सर अस्पतालमा उपचारका लागि आएकी १२ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार साँझ ती बालिकाको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि अस्पतालको एनएक्स वार्ड सिल गरेको छ ।

काभ्रेपलाञ्चोक तेमाल घरभई भक्तपुर कमलविनायक बस्ने ती बालिका बुधबार वीर अस्पतालबाट रिफर भएर मस्तिष्क सम्बन्धी रोगको शल्यक्रियाका लागि क्यान्सर अस्पताल आएको अस्पताल प्रशासनले जनाएको छ । 

वीर अस्पतालमा गरिएको पीसीआर नेगेटिभ भएको र ओटी गर्नुअघि क्यान्सर अस्पतालमा पीसीआर गराउँदा ती बालिकाको रिपोर्ट पोजेटिभ आएको अस्पताल प्रशासन प्रमुख राजाराम तजलेले बताउनुभयो । कोरोना संक्रमण पुष्टि भएपछि ती बालिकालाई शनिबार राति शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको उहाँले बताउनुभयो ।

क्यान्सर अस्पतालले बालिकाको उपचारमा संलग्न अस्पतालका १३ जना नर्स, ५ डाक्टर, अस्पतालका कर्मचारी, एनएक्स वार्डमा उपचाररत बिरामी, कुरुवा लगायतलाई क्वारेन्टिनमा राखेको प्रशासन प्रमुख तजलेले बताउनुभयो । 

बालिकाको उपचारमा संलग्न तथा प्रत्यक्ष सम्पर्कमा रहेकाको आइतबार नै पीसीआर परिक्षणका लागि ‘नेजल स्वाब’को नमूना संकलन गरिसकेको उहाँले जानकारी दिनुभयो । अस्पतालका अन्य सेवाहरु भने यथावत राखिएको छ । 

महानगरीय प्रहरी वृत्त जगातीले ती बालिका बसोबास गर्ने कमलविनायकस्थित घर र चर्चमा समेत सिल गरेको जनाएको छ । यसैगरी, शनिबार नै मध्यपुर थिमि नगरपालिका–९, बोडे निलबाराहीकी ४ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेको छ । 


प्रतिक्रिया