भरतपुरमा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि

असार १७, २०७७ | चितवन

चितवनको भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशलामा गरिएको परीक्षणमा २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भरतपुर अस्पतालले आज बिहान सूचना जारी गर्दै सरकारी र दुई निजी अस्पतालमा भर्ना भएका ६ जना बिरामी सहित २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । 

संक्रमितमध्ये पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाका १० जना र बाँकी १५ जना चितवनका अस्पतालका बिरामी, शंका लागेर स्वाब संकलन गराएका र क्वारेन्टिनमा रहेका व्यक्तिहरु हुन् । भरतपुर सरकारी अस्पतालका तीन जना बिरामी, नारायणी सामुदायिक अस्पतालमा दुई र सेन्ट्रल अस्पतालका एक जना बिरामीमा कोरोनाको संक्रमण पुष्टि भएको हो । 

हिजो भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण भएका कुल १ सय १ नमूना मध्ये २५ वटामा संक्रमण देखिएको अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा.श्रीराम तिवारीले बताउनुभयो ।

डा. तिवारीका अनुसार भरतपुर अस्पतालमा स्वाब संकलन भएकामध्ये ६ जनामा संक्रमण देखिएको छ । ‘जसमध्ये तीन जना हाम्रै अस्पतालमा उपचार गराइ रहेका व्यक्तिहरु हुन्, उहाँले भन्नुभयो, ‘बाँकी तीन जना शंका लागेर स्वाब संकलन गराउन आएकाहरु हुन् । ति तीन जना आइसोलेशनमा थिनन् ।’

भरतपुर अस्पतालमा स्वाब संकलन भएर संक्रमण पुष्टि भएकाहरुमा माडी नगरपालिका–५ र ३ का दुई पुरुष र दमक–३ की ३५ वर्षीया महिला तथा भरतपुर महानगरपालिका वडा नम्बर ७ का २६ वर्षीय पुरुष, भरतपुरकै वडा नम्बर ११ मा बस्ने ४५ वर्षीया महिला र वडा नम्बर २२ मा बस्ने ५० वर्षका पुरुष रहेका छन् । 

यस्तै, नारायणी सामुदायिक अस्पतालमा उपचार गराउने भरतपुर–७ का ६१ वर्षका पुरुष र १२ वर्षीया बालिकामा पनि संक्रमण देखिएको छ । भरतपुरको सेन्ट्रल अस्पतालमा उपचार गराउन आएकी गोर्खा मनकामना बस्ने ३० वर्षकी महिलामा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । 

निजी अस्प्तालमा उपचारका लागि भर्ना भएका बिरामीहरुमा संक्रमण देखिएपछि तत्कालै भरतपुरको सरकारी अस्पतालको आइसोलेशनमा पठाउने चलन रहेको छ । यसअघि यसरी पठाएका दुई जना संक्रमितको भरतपुरको सरकारी अस्पतालमा निधन भइसकेको छ ।

डा. तिवारीले निजी अस्पतालमा रहेका बिरामीको अवस्था, सम्भावना सबै अवगत गराएर मात्रै रिफर गर्ने वा नगर्ने भन्ने बारेमा निक्र्यौल गर्नुपर्ने बताउनुभयो । अस्पतालले पनि निजी अस्पतालका संक्रमित बिरामी रेफर गर्दा क्लिनिकल कोर्डिनेटर डा.प्रमोद पौडेलसँग समन्वय गरेर मात्रै पठाउन सूचना निकालेर अनुरोध गरेको छ ।

मंगलबारको परीक्षणमा संक्रमित पुष्टि भएका बाँकी ६ जना भरतपुर महानगरपालिकाको वडा नम्बर ४, ९, २२, २५ र २६ को क्वारेन्टिनमा रहेका पुरुषहरु हुन् । चितवनमा यसअघि ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको थियो । 


प्रतिक्रिया