क्वारेन्टिनबाट घर फकाईएकी युवतीमा कोरोना संक्रमण

असार १७, २०७७ | काभ्रे

क्वारेन्टिनबाट घर फर्काइएकी काभ्रेका एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अस्पतालले दिएको रिपोर्टका आधारमा कोरोना संक्रमण नभएको भन्दै क्वारेन्टिनबाट घर फर्काएकी २४ वर्षीया युवतीको पीसीआर रिपोर्ट पोजिटिभ पाइएको छ । 

कुवेतबाट गत जेठ २९ गते नेपाल फर्किएकी बनेपा नगरपालिका–१० की ती युवती धुलिखेल अस्पतालको लारबाहीका कारण परिवारको सम्पर्कमा पुगेकी हुन् । बुडोलमा बनेपा नगरपालिकाले तयार गरेको क्वारेन्टिनमा रहेकी ती युवतीको पीसीआर परीक्षणको लागि स्वाब संकलन भएको थियो । 

परीक्षणको रिपोर्ट लिने बेला अस्पतालले उनकै नाम गरेकी अर्की महिलाको रिपोर्ट दिएको थियो । सोही आधारमा नगरपालिकाले १४ दिनपछि उनलाई घर पठाएको थियो । अस्पतालले नाम र उमेर एउटै रहेका कारण गलत रिपोर्ट परेको स्वीकार्दै गल्ती नदोहोर्‍याउन ल्याबका कर्मचारीलाई सचेत गराएको बताएको छ । 

क्वारेन्टिनबाट फर्किएपछि उनी परिवारको सम्पर्कमा थिइन् । परिवारका ६ जनालाई क्वारेन्टिनमा राखेर कन्ट्याक ट्रेसिङको काम भइरहेको वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

कुवेतबाट फर्किएदेखि क्वारेन्टिनमा रहेकी उनको ११ औं दिनमा गरिएको आरडीटी शंकास्पद देखिएपछि पीसीआर विधिबाट परीक्षण गरिएको थियो । बनेपा नगरपालिकाले अस्पतालले दिएको रिपोर्टकै आधारमा घर पठाएको बताएको छ । 

यसअघि पाँचखाल नगरपालिकाका एक युवाको घर फर्किएको भोलिपल्ट कोरोना पोजिटिभ देखिएको थियो । तत्काल उनको परिवारलाई पनि क्वारेन्टिनमा राखिएको थियो । जिल्लामा यसअघि संक्रमित भएका ६ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् ।


प्रतिक्रिया