क्वारेन्टिनबाट भागेका ८ मध्ये एकमा कोरोना संक्रमण पुष्टि

असार २०, २०७७ | पाल्पा

पाल्पाका तिनाउ गाउँपालिका–३, झुम्साको क्वारेन्टिनबाट भागेका ८ जना मध्ये एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पीसीआर विधिबाट स्वाब परीक्षणका लागि पठाएको रिपोर्ट आउन ढिलाई भएको भन्दै क्वारेन्टिनबाट भागेका ८ मध्ये एक जनामा कोरोना पोजेटिभ देखिएको हो । 

गत बिहीबार क्वारेन्टिनबाट भागेका उनीहरुको पीसीआर रिपोर्ट शुक्रबार आएको तिनाउ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले बताउनुभयो ।

तिनाउ गाउँपालिका–५, घुँघराछापका ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । 

उनीसँगै उनका छोरा, सोही वडाको बिस्कुन डाँडाका दुई, साविक कोलडाँडाका तीन, तिनाउ–४, सत्यवती लगाडका एक जना भागेका थिए । 

भागेर गएपनि उनीहरुलाई गाउँमा पुगेपछि घरमा बस्न भने दिएका छैनन् ।

स्वास्थ्य शाखा प्रमुख कार्कीका अनुसार सबैलाई नजिकको विद्यालयका साथै खाली घरमा राखिएको छ । 

एक जनामा कोरोना पोजेटिभ देखिएकाले उनीहरुसंगको कन्ट्याक्टमा को–को आए भन्नेतर्फ खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । उनीहरु क्वारेन्टिनमा बसेको २२ दिन भइसकेको थियो । 


प्रतिक्रिया