नेकपामा शीर्ष तहको विवाद मिलाउन केन्द्रीय सदस्यको सक्रिय

असार २०, २०७७ | काठमाडौं

शीर्ष नेतृत्वमा विवाद बढ्दै गएपछि नेकपाका सांसदहरु एकतालाई मजबुद बनाउन भन्दै छलफलमा जुटेका छन् । 

दोस्रो तहका नेताहरू समूहगत छलफलमा जुटेका बेला केन्द्रीय सदस्य समेत रहेका सांसदहरू पनि भेला हुन थालेका हुन् । 

नेकपाका केन्द्रीय सदस्य समेत रहेका संघीय सांसदहरू भेला भएर पार्टी एकता कायम राख्नका लागि दबाब दिने निर्णयमा पुगेका छन् । 

ललितपुरको पुल्चोकस्थित महिला, बालबालिका तथा ज्येष्ठ नगारिकमन्त्री पार्वत गुरुङको निवासमा आज बिहान संघीय सांसद भेला भएका थिए ।

उनीहरूले पार्टी एकता विरोधी गतिविधि नगर्न सबै नेता कार्यकर्तासँग आग्रह गर्ने र प्रमुख तीन नेतालाई भेटेर एकताका लागि दबाब दिने निर्णय गरेको नेता झपट रावलले जानकारी दिनुभयो । त्यसका लागि प्रधानमन्त्रीसँग भेट्न समय मिलाउने जिम्मा मन्त्री गुरुङलाई दिइएको छ । 

अध्यक्ष दाहालसँग भेट्ने समय मिलाउन टेकबहादुर बस्नेत र नेता नेपालसँग भेट्ने समय मिलाउने जिम्मा गणेश पहाडीलाई दिएको रावलले जानकारी दिनुभयो । 

उनीहरूले सोमबार निर्धारण गरिएको स्थायी समिति बैठक अगाडि तीनै जना नेताहरूलाई भेट्ने तयारी गरेका छन् । 

आजको छलफलमा एकताका आधारमा पार्टीले प्राप्त गरेको जनमत जोगाउने र जनताले दिएको जिम्मेवारी स्मरण गराएर एकताका लागि दबाब दिने समझदारी भएको सांसद रावलले बताउनुभयो ।


प्रतिक्रिया