बझाङमा पहिरोमा पुरिएर ६ को मृत्यु, एक जना अझै बेपत्ता

असार २०, २०७७ | बझाङ

बझाङको केदारस्युँ गाउँपालिका–८ को मल्लेसी गाउँमा पहिरोमा परेर एकै परिवारका चार सहित ६ जनाको मृत्यु भएको छ । एक जना अझै बेपत्ता छन् । 

पहिरोले १८ वटा घर बगाएको छ भने अरु ४५ वटा घर जोखिममा छन् । सो गाउँका करीब चार सय जना स्थानीय विस्थापित भएका छन् । 

पहिरोमा पुरिएर ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठारा र दुई छोरीहरु १४ वर्षीया शान्ती र १६ वर्षीया अस्मिता र उनकी भदैनी नाता पर्ने १३ वर्षीया सन्तु जेठाराको मृत्यु भएको छ । यस्तै, ८० वर्षीय दले जेठाराले पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।

जिल्ला सदरमुकाम चैनपुरबाट गएको डीएसपी गणेश बम सहितको नेपाल प्रहरीको टोली, डीएसपी गणेश शाहको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोली र कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ केदारस्युँकै बागथलाबाट खटिएको नेपाली सेनाको टोली तथा स्थानीयको सहयोगमा उनीहरुको शव निकालिएको थियो । 

पहिरोका कारण विस्थापित भएकालाई स्थानीय नवादेउ प्राथमिक विद्यालय र छिमेकी गाउँ घड्यानमा राखिएको केदारस्युँ गाउँपालिका–८ का वडा अध्यक्ष गणेश बोहराले जानकारी दिनुभयो ।

विद्यालयमा रहेकालाई सामूहिक रुपमा खानाको व्यवस्थापन गरिएको र घड्यान गाउँमा रहेकालाई त्यहाँका स्थानीयले खाना र बासको व्यवस्था गरेको उहाँले बताउनुभयो । 

पहिरो पीडितहरुका लागि नेपाली सेनाको हेलिकप्टरबाट आठ क्विन्टल चामल, ३७ वटा त्रिपाल र ४० वटा कम्मल घटना स्थलमा पुर्‍याएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिनुभयो । 

पहिरोमा परि ज्यान गुमाएकाको लागि तत्काल क्रिया खर्च बापत ३५ हजार रुपैयाँ गाउँपालिकाले दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष इन्द्र भण्डारीले बताउनुभयो । भोलि नै अर्काे बैठक बसेर विस्थापितलाई अन्य सहयोग गर्ने बारेमा निर्णय गरिने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार :
बझाङमा पहिरोमा पुरिएका चार जनाको शव भेटियो (अपडेट)

बझाङमा पहिरोमा पुरिएका दुईको शव भेटियो (अपडेट)

बझाङमा पहिरोले १७ वटा घर बगायो


प्रतिक्रिया