पूर्वाधारमा क्षति नपुर्‍याउन उपत्यका खानेपानी आयोजनाको अपिल

असार २१, २०७७ | काठमाडौं

काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले सुन्दरीजलको पानी आपूर्ति प्रणालीसँग सम्वन्धित पूर्वाधारमा क्षति नपुर्‍याउन सरोकारवालाको ध्यानाकर्षण गराएको छ । 

सुन्दरीजलको पानी साउन मसान्त भित्र प्रशोधन केन्द्रमा झारिसक्ने सुनिश्चीत भएको भन्दै निर्देशनालयले आपूर्ति प्रणालीलाई क्षति पुग्ने गरि कार्य नगर्न सरोकारवाला सरकारी निकायको ध्यानाकर्षण गराएको हो । खानेपानी आयोजना अन्तिम चरणमा पुगेको अवस्थामा सडक निर्माण तथा ढल विछ्याउने क्रममा १६ करोड रुपैँया भन्दा वढीका ३५ हजार ९२ मिटर पाईपलाईनमा क्षति पुगेको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं उपत्यका भित्र मेलम्चीको पानी वितरणका लागि पूर्वाधारका अधिकांश काम सम्पन्न भईसकेको पनि निर्देशनालयले जनाएको छ । निर्माण सम्पन्न भएका पूर्वाधारहरुको सफाई र चुहावट परिक्षण सम्पन्न भैसकेको तथा वितरणका लागि १२ सय किलोमिटर पाईप विछ्याउने र मिटर सहित धार जडानको काम भैरहेको जारी विज्ञप्तिमा उल्लेख छ । 

काठमाडौं उपत्यकाको रिङरोड भित्रका अधिकांश स्थानमा पाईप विच्छ्याई सकिएकाले सडक खन्न परेमा आफ्नो सहमति लिन समेत निर्देशनालयले आग्रह गरेको छ ।


प्रतिक्रिया