सल्यानका २१ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किए

असार २४, २०७७ | सल्यान

सल्यानको बन्गाड कुपिण्डे नगरपालिका र सल्यान बहुमुखी क्याम्पस लुहापिङ्गको आईसोलेसनमा बसेका २१ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् । संक्रमितको रिर्पोट नेगेटिभ आएपछि उनीहरु बुधबार घर फर्किएका हुन् । 

बन्गाड कुपिण्डे नगरपालिकाको आईसोलेसनबाट १६ जना र सल्यान बहुमुखी क्याम्पसको आईसोलेसनबाट दार्मा गाउँपालिकाका पाँच जना संक्रमण मुक्त भएर फर्किएको स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताउनुभयो । 

जिल्लाको १० स्थानीय मध्ये ९ स्थानीय तहका २ सय २३ जना कोरोना संक्रमित मध्ये अहिलेसम्म एक सय ७४ जना घर फर्किएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित ४९ जना मध्ये नौ जना बन्गाड कुपिण्डे नगरपालिकाले निर्माण गरेको आईसोलेसनमा बसेका थिए । 

४० जना सल्यान बहुमुखी क्याम्पस लुहापिङ्गमा रहेका छन् । आईसोलेसनमा रहेका सबैको अवस्था सामान्य रहेको छ । यता, बन्गाड कुपिण्डे नगरपालिकामा संक्रमण देखिएका एक सय ५१ जना मध्ये एक सय ३३ जनाले कोरोना संक्रमण मुक्त भएर घर फर्किसकेको नगर प्रमुख गोविन्दकुमार पुनले बताउनुभयो । 

बाँकी रहेका १८ मध्ये बन्गाड कुपिण्डे नगरपालिकाको आईसोलेसनमा नौ र सल्यान बहुमुखी क्याम्पसमा नौ जना उपचाररत रहेको उहाँले जानकारी दिनुभयो । संक्रमित सबै भारतबाट आएका थिए । गत दुई साता अघि पीसीआर रिपोर्ट आउन ढिलाई गरेका कारण क्वारेन्टिनबाट भागेका ७८ जनाको रिपोर्ट समेत नेगेटिभ आएको उहाँको भनाई छ ।

भारतका तथा विभिन्न खाडी मुलुकबाट पाँच हजार बढी मानिसहरु जिल्लामा भित्रिएका थिए । ती मध्ये चार हजार ९ सय ४९ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर सुर्खेत, नेपालगञ्ज, दाङ, काठमाडौं, चितवन पठाएका मध्ये अब थोरैको मात्र रिपोर्ट आउन बाँकी रहेको स्थानीय तहले जानकारी गराएका छन् । 


प्रतिक्रिया