नवनियुक्त आईजीपीलाई गृहमन्त्रीको निर्देशन : शान्ति सुरक्षामा विशेष ध्यान दिनु

असार २५, २०७७ | काठमाडौं

गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ‘प्रहरी समायोजन’को काम छिट्टो टुंगोमा पुर्‍याउन निर्देशन दिनुभएको छ । 

पदबहालीपछि गृहमन्त्री थापालाई भेटन गृह मन्त्रालय पुगेका आईजीपी क्षेत्रीलाई गृहमन्त्री थापाले संगठनको हित हुने गरी लामो समयदेखि रोकिएको समायोजन कार्य चाँडै पूरा गर्न दिर्नेशन दिनुभएको हो । 

यस्तै, गृहमन्त्री थापाले शान्ति सुरक्षामा विशेष ध्यान दिन आईजीपी क्षेत्रीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्रीको भनाई उद्दृत गदै उहाँको सचिवालयले भन्यो, ‘तपाईको कार्यकाल शान्ति, सुरक्षा, अमनचयन कायम गर्न उत्कृष्ट हुने विश्वास लिएको छु । राज्यले विकासलाई प्राथमिकतामा राखेको छ । त्यसका लागि शान्ति सुरक्षा अनिवार्य हो । त्यसमा ध्यान दिनुहोस् ।’

जवाफमा नवनियुक्त आईजीपी क्षेत्रीले इमान्दारीपूर्वक राज्यले दिएको जिम्मेवारीलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई नेपाल प्रहरीको २८ औं महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

निवर्तमान महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवाहदका कारण हिजोदेखि नियमित अवकाशमा जानुभएको छ । यसैबीच, आज बिहान एक समारोहकाबीच गृह सचिव महेश्वर न्यौपानेले नवनियुक्त आईजीपी क्षेत्रीलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो ।

२०२५ मंसिर २३ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–५ मा जन्मनुभएका थापा २०४९ बैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएको हो । क्षेत्रीले २०७९ बैशाख १८ गते सम्म नेपाल प्रहरीको नेतृत्व गर्नुहुनेछ ।  


प्रतिक्रिया