महिला कुटपिटमा संलग्न नगर प्रहरी विक निलम्बित

असार २५, २०७७ | रुकुम पश्चिम

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले नगर प्रहरी निर्मला विकलाई निलम्बन गरेको हो । महिला कुटपिटमा संलग्न नगर प्रहरी निर्मला विकलाई आवश्यक छानबिनको लागि भन्दै निलम्बन गरिएको हो । 

एक महिलालाई लठ्ठीले हानेको भिडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि विकलाई निलम्बन गरिएको नगरपालिकाले जनाएको छ । सो घटनाको छानबिनका लागि प्रशासकीय अधिकृत मानबहादुर बुढाथोकी संयोजकत्वमा नगरपालिकाले छानबिन समिति गठन गरेको थियो । 

समितिमा सूचना प्रविधि अधिकृत गणेश चन्द तथा नगर प्रहरी सहायक निरीक्षक ओलालाल ऐरी सदस्य छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत धु्रवप्रसाद लम्सालले सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको उक्त भिडियोमा देखिएको दृश्यको आधारमा कार्यालयको तर्फबाट निर्मलालाई निलम्बन गरी छानविन समिति गठन गरी छानविन प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

गत जेठ १ गते सो घटना भएको प्रहरीले जनाएको छ । जाजरकोट जिल्लाबाट ठूलीभेरी नदी माथिको झोलुङ्गे पुल तरेर राडीतर्फ आउने क्रममा ती महिलाले हेल्थ डेस्कमा बसेकी स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई उल्टै गाली गरेपछि महिला नगर प्रहरीको सहयोगमा ती महिलालाई नियन्त्रणमा लिइएको थियो । 

नियन्त्रणमा लिइएको क्रममा कुटपिट गरेको दृश्य सार्वजनिक भएपछि प्रहरीले आवश्यक छानबिन थालेको छ । जेठ २ गते ती महिलाकी दिदीले ९ नम्बर वडाध्यक्ष तारक बहादुर शाहीको रोहबरमा ती महिलालाई घर लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक ठगबहादुर केसीले बताउनुभयो । मादक पदार्थ सेवन गरेको सुरमा आफूले गल्ती गरेको भनेर ती महिला घर फर्किएको बताइएको छ ।


प्रतिक्रिया