गण्डक नहरमा ७ सय क्युसेक पानी, रोपाइँमा सहज

असार २५, २०७७ | पर्सा

नियमित मर्मत सम्भार र सफाईसँगै यस बर्षदेखि गण्डक नहरमा ७ सय क्युसेक पानी आएको छ । नारायणी सिंचाई व्यवस्थापन कार्यांलयका इन्जिनियर एवं सूचना अधिकारी सुरेश साहका अनुसार, बुधबार सम्ममा नहरमा ७ सय क्युसेक पानी आएको छ । 

पर्याप्त पानी आएसँगै यस वर्ष धान बालीका लागि नहरमा प्रवाह गरिएको पानी ११ नम्बर ब्लक भन्दा माथिसम्म पुगेको छ । हाल पर्सा, बारा हुँदै रौतहट सीमासम्म सहजै पानी पुगेको उहाँले बताउनुभयो । ‘नहरको ११ नम्बर ब्लकको केही भाग अग्लो भएकाले पानीको प्रवाहमा केही समय लागेको हो, उहाँले भन्नुभयो, ‘बुधबारसम्म ११ नम्बर ब्लकको अधिकांश भागमा पानी पुगेको छ ।’

यसवर्ष धान बालीका लागि भारतले असार १३ मै नहरमा पानी प्रवाह गरेकाले समयमै नहरमा आश्रित किसानले रोपाइँ गर्न पाएको साहले बताउनुभयो । बुधबारसम्म नहरमा आश्रित ९५ प्रतिशत किसानले रोपाइँ गरी सकेको र बाँकी रहेकाले पनि यसै साता सम्पन्न गर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । 

नेपाल भारतबीचको गण्डक सम्झौता अनुसार, भारतले असार १५ मा नहरमा पानी छोडनु पर्छ । अन्य वर्षहरुमा ढिलो गरी पानी दिने गरेकोमा यस वर्ष भारतले छिटै पानी दिएकाले सहज भएको उहाँको भनाई छ । सुरुको दिनमा नहरमा २ सय क्युसेक पानी आएकोमा पछिल्ला दिनहरुमा ७ सय क्युसेकसम्म पानी भारतले दिएकाले पनि नहरमा पानीको प्रचुरतासँगै प्रवाह पनि बढेको उहाँले बताउनुभयो । 

‘भारतीय पक्षले नेपाल तर्फको नहरको संरचना चुस्त दुरुस्त भए यसवर्ष ८ सय ५० क्युसेकसम्म पानी दिने बताएको छ,’ उहाँले भन्नुभयो, ‘हाम्रो नहरको क्षमता ७ सय ५० क्युसेक मात्र हो, तैपनि नहरले थेग्न सक्ने गरी बढी भन्दा बढी पानी लिएर किसानको सहज पहुँचमा पुर्‍याउन हामी प्रयासरत छौं ।’

नारायणी सिंचाई व्यवस्थापन कार्यालय आफैले ३ वर्ष यता नहरको नियमित सरसफाई र मर्मत सम्भारमा ध्यान दिएको तथा गतवर्ष भारतीय पक्षले पनि भारतीय भूमिमा नहरको मर्मत सम्भार गरेको साहको भनाई छ । नहरको संरचनामा नयाँ निर्माण कार्य तथा मर्मत सम्भार प्रयोजनको कारण देखाउँदै भारतले गत वर्ष बाली सिजनमा नहरमा पानी दिएको थिएन । जसले गर्दा नहरमा आश्रित नेपालका पर्सा, बारा, रौतहटका किसानलाई मर्का परेका थिए । 

नेपाली पक्षको पटक–पटकको लबिंगका कारण ३ वर्ष अघि भारतले पहिलो पटक ७ सय २० क्युसेक पानी नहरमा दिएको थियो । तर, सोही वर्ष ठूलो वर्षासँगै नेपाल र भारत दुबै तर्फ नहरको संरचनामा विभिन्न ठाउँमा क्षति पुगेसँगै नहरको पानीको तालिका गडबड हुन पुगेको थियो । 

नवलपरासीस्थित नेपाल–भारत सीमा नजिक यो नहरको व्यारेज निर्माण गरी विद्युत उत्पादनको साथै नेपाल र भारत दुबै तर्फ सिंचाईका लागि नहरको निकास गरीएको छ । सुरुमा नेपाल तर्फ आउने नहर पनि भारतको पश्चिमी चम्पारणको विभिन्न भाग हुँदै करीब ९२ किलोमिटर यात्रापछि पर्साको जानकी टोलाबाट नेपालमा प्रवेश गर्छ ।

 नेपालमा पर्सा देखि रौतहटसम्म यो नहर ८१ किलोमिटर लामो छ । तीन वटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित गर्ने लक्ष्य भएपनि हाल विभिन्न समस्याले गर्दा सो जग्गामा नहरबाट सिंचाई सुविधा उपलब्ध हुन सकेको छैन । 

भारतले यो नहर निर्माण गरी नेपाललाई हस्तान्तरण गरेको हो । २०२१/०२२ सालमा यो नहर निर्माणको सर्वे गरीएको थियो । नहर निर्माणका लागि नेपाल सरकारले सन् १९५९ डिसेम्बर ५ मा भारत सरकारसँग सम्झौता गरेको थियो । भारतले सन् १९७२ र १९७६ मा गरी दुई चरणमा यो नहरको निर्माण गरेको थियो ।  


प्रतिक्रिया