पाल्पाका ३ सय ३ जना संक्रमण मुक्त भएर घर फर्किए

पाल्पाको पूर्वखोला र रम्भा गाउँपालिकाले संयुक्त रुपमा बनाएको रम्भा मावि आइसोलेसनबाट संक्रमण मुक्त भएर घर फर्किदै । तस्बिर : माधव अर्याल/कान्तिपुर  

असार २७, २०७७ | पाल्पा

पाल्पाका ५ सय ४९ जना कोरोना संक्रमित मध्ये ३ सय ३ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । शुक्रबार र शनिबार गरी जिल्लाका २ सय ५६ जना संक्रमण मुक्त भएर घर फर्केको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कोरोना जितेर घर फर्किनेहरुमा सबै भन्दा धेरै रामपुर नगरपालिकाका १ सय ६ जना छन् ।

यस्तै, निस्दी गाउँपालिकाबाट ९५ जनालाई घर पठाइएको छ । माथागढी गाउँपालिकाका १५, पूर्वखोला गाउँपालिकाका ३४ जना, रैनादेवी छहरा गाउँपालिकाका २० जना, रम्भा गाउँपालिकाका २५ जना घर पठाइएको स्वास्थ्य कार्यालय निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो ।

१५ दिन आइसोलेशनमा बसेकालाई पुन: जाँच नगरिकन घर पठाइएको छ । पाल्पाबाट आइसोलेसनमा बसेका १ सय ५६ जनाको स्वाब संकलन गरेर जनस्वास्थ्य प्रयोगशालामा पठाए पनि जाँच गरेको छैन । सबै भन्दा धेरै निस्दी गाउँपालिकाबाट ९० जनाको स्वाब संकलन गरी पठाइएको थियो ।

स्थानीय तहले आफै भीटीएम खरिद गरेर स्वाब संकलन गरी पठाए पनि परीक्षणका लागि नभएको निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । कोरोना संक्रमण मुक्त भएर बगनासकाली गाउँपालिकाका एक, रिब्दीकोट गाउँपालिकाका चार, पाल्पामा उपचाररत गुल्मी र अर्घाखाँचीका तीन जना पनि निको भएर घर फर्केका छन् । 

आइसोलेशनमा बसेकाहरुको स्वाब संकलन नगर्न निर्देशन दिएको र संकलन गरेर पठाएको पनि जाँच नगरेकाले १५ दिन पुगेपछि लक्षण नदेखिएको र स्वास्थ्य समस्या नदेखिएपछि घर पठाइएको पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनुभयो ।

जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ सय ४९ पुगेको छ । बगनासकाली गाउँपालिकामा ४२, रम्भा गाउँपालिकामा ४०, माथागढी गाउँपालिकाका ३०, तिनाउ गाउँपालिकाका ८, रैनादेवी छहरा गाउँपालिकामा ३८ जनामा संक्रमण देखिएको छ । 

यस्तै, तानसेन नगरपालिकामा १३, रामपुर नगारपालिकामा १ सय १६, पूर्वखोला गाउँपालिकामा १ सय ५९, रिब्दीकोट गाउँपालिकामा ५, निस्दी गाउँपालिकामा ९५ जना तथा उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो । पूर्वखोला, सिलुवाका ४५ वर्षीय एक जना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो ।


प्रतिक्रिया