बाढीले बगाएर सुनसरीमा एकको मृत्यु, एक बालक बेपत्ता

झापाको शिवसताक्षी नगरपालिका–१० स्थित कनकाई नदीमा आएको बाढीले कटान गरेको पश्चिम किनार । तस्बिर : अर्जुन/रेडियो कान्तिपुर 

असार २८, २०७७ | सुनसरी

सुनसरीको सर्दु खोलाले बगाएर शनिबारदेखि बेपत्ता भएका एक जनाको शव फेला परेको छ । खोलाले बगाएर बेपत्ता भएका धरान उपमहानगरपालिका–१३ बस्ने ६० वर्षीय रामबहादुर बस्नेतको शव आइतबार फेला परेको हो । 

पूर्व भारतीय गोर्खा सैनिक समेत रहेका बस्नेतलाई सर्दु खोला तर्ने क्रममा बाढीले बगाएको थियो । बाढीले बगाएको स्थानबाट करीब पाँच किलोमिटर दक्षिण धरान–११ स्थित मंगलबारे छेउको सर्दु किनारमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । 

खोलामा दाउरा संकलन गर्नेहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बस्नेतको शव पोस्टमार्टमाका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको इलाका प्रहरी कार्यालय प्रहरी नायब उपरक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो ।

यसैगरी, शप्तकोशी नदीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बस्ने एक बालक बेपत्ता भएका छन् । बराहक्षेत्र नगरपालिकास्थित चक्रघट्टी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डव राजबंशीका अनुसार शप्तकोशी नदीले १४ वर्षीय अनिल बस्नेतलाई बगाएको हो । उनको खोजी कार्य भइरहेपनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया