पहिरोमा पुरिएर तनहुँमा मृत्यु हुनेको संख्या ११ पुग्यो

असार ३०, २०७७ | तनहुँ

बाढी पहिरोका कारण तनहुँमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । एक जना अझै बेपत्ता छन् । आइतबारदेखि पहिरोमा परि बेपत्ता रहेका व्यास नगरपालिका–११ ओडारेका ५२ वर्षीय पदमबहादुर भुजेलको शव मंगलबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

पहिरो पन्छाउन मुस्किल भएपछि जेसीबीको प्रयोग गरेर पहिरो हटाएपछि मंगलबार दिउँसो ४ बजेतिर भुजेलको शव भेटिएको जिल्ला प्रहरी उपरिक्षक अरुण पौडेलले बताउनुभयो । यस्तै, घर माथिबाट झरेको पहिरोमा पुरिएर बेपत्ता रहेका व्यास नगरपालिका–९ माझफाँटका २० वर्षीय राजेश थापा भने अझै बेपत्ता रहेको र उनको खोजी भईरहेको प्रहरी उपरिक्षक पौडेलले बताउनुभयो ।

पहिरोमा पुरिएर व्यास–९ माझफाँटका ७० वर्षीया मैत कुमारी घर्ती, माझफाँटका एकै परिवारका ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज, २१ वर्षीया बुहारी अन्जना थापा शव सोमबार नै भेटिएको थियो ।

त्यस्तै, पहिरोमा परी म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडाकी १७ वर्षीय लक्ष्मी विक गम्भीर घाइते भएकी र उनको उपचारका क्रममा मृत्यु भएको छ । रिसिङ गाउँपालिका–८ भैसिलिकेमा पहिरोमा पुरिएर अनबहादुर थापाको एकै परिवारका ५ जनाको मृत्यु भएको छ । 

अनबहादुरका जेठो छोरा ३० वर्षीय भेषबहादुर, भेषबहादुरकी २९ वर्षीया श्रीमती नानुमाया, उनीहरुका ५ वर्षकी छोरी अमिषा, अनबहादुरका कान्छा छोरा २२ वर्षीय महादेव र महादेवकी १९ वर्षीया श्रीमती मनिसरा थापाको शव सोमबार साँझ मात्र भेटिएको प्रहरीले जनाएको छ ।

यस्तै, घाइते अवस्थामा उद्धार गरिएको रिसिङ–८ पल्टयाङ भैसिलिकेका ६० वर्षीया ज्योतीमाया थापा, व्यास–९ का ५० वर्षीय केशवबहादुर थापाको पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार :
* बाढी पहिरोले तनहुँमा ७ को मृत्यु, ५ जना बेपत्ता (अपडेट)

* तनहुँमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु, पाँच बेपत्ता (अपडेट)


प्रतिक्रिया