सिरानचोक गाउँपालिकाको केन्द्र विवाद टुंगियो

श्रावण १, २०७७ | गोरखा

स्थानीय तहको चुनाव भएको झण्डै ३ वर्षपछि गोरखाको सिरानचोक गाउँपालिकाको स्थायी केन्द्र टुंगो लागेको छ । लामो रस्साकस्सीपछि बुधबारको गाउँसभाले चित्रेपोखरीको पक्षमा मतदान गरेपछि गाउँपालिकाको केन्द्र सम्बन्धी विवाद टुंगिएको हो । गाउँपालिकाको केन्द्र वडा ५ को चित्रेपोखरी कायम भएको गाउपालिका अध्यक्ष राजु गुरुङले बताउनुभयो ।

गाउँसभाका ४२ मध्ये ३७ जनाले चित्रेपोखरीको पक्षमा मतदान गरेका थिए । वडा–४ का ५ जनाले भने चुनावी प्रक्रियामा भाग लिएनन् । यसअघि सिरानचोक गाउँपालिकाको अस्थायी केन्द्र वडा ५ को छोप्राकमा थियो । नेकपाबाट निर्वाचित वडा सदस्यहरु विमला गुरुङ र गंगा सुनारले चित्रेपोखरी केन्द्र निर्धारण गरियोस भनेर प्रस्ताव पेश गर्नु भएको थियो ।

प्रस्तावमा गाउँपालिका उपाध्यक्ष रिता देवकोटा, संसदीय दलका नेता जयकृष्ण ढकाल, वडा–३ का अध्यक्ष वीर बहादुर थापा, २ का अध्यक्ष ज्ञानेन्द्र गुरुङ, वडा ६ का अध्यक्ष नारायण दानीले समर्थन जनाउनुभयो । गाउँपालिकामा कांग्रेसका २९, नेकपाका १२ र जनता समाजवादीका २ गाउँ सभा सदस्य छन् ।

कांग्रेसको बहुमत भएपनि आपसी समझदारी नहुँदा केन्द्र निर्धारणको प्रस्ताव अस्वीकृत हुँदै आएको थियो । गत असार २४ को कार्यपालिका बैठकमा बहुमतले पास गरी असार ३१ को गाउँ सभा बैठकले केन्द्रको अनुमोदन गराइएको हो ।

 ‘स्थानीय तहको निर्वाचन लगतै पहिलो पटक गोप्य मदान भएको थियो, बहुमत पुगेन, दोस्रो पटक कार्यापालिकामा छलफल भएपनि गाउँ सभामा प्रस्ताव पेश नै हुन सकेन,’ अध्यक्ष गुरुङले भन्नुभयो, ‘तेस्रो पटकको प्रयासमा केन्द्र चित्रेपोखरी भयो ।’

स्थानीय तहको चुनाव पछिको ६ महिनासम्म साधारण बहुमतले केन्द्र टुंग्याउन सकिने स्थानीय सरकार सञ्चालन ऐनमा प्रावधान छ । ६ महिनापछि भने दुई तिहाइ बहुमतबाट केन्द्र छनौट गर्नुपर्ने हुन्छ । अब गाउँसभाको निर्णय गण्डकी प्रदेशको मन्त्रिरिषदमा पेश गर्ने तयारी भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

प्रदेशको मन्त्रिपरिषदको बैठकबाट निर्णय गराएर संघीय सरकारमा पठाउनुपर्ने प्रावधान छ । उहाँले भन्नुभयो, ‘संघीय मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि राजपत्रमा प्रकाशित हुन्छ, अनि बल्ल कानूनी मान्यता पाउँछ ।’

गाउँपालिका केन्द्रको टुंगो लागेसँगै कार्यालय सार्ने प्रक्रिया सुरु गर्ने गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । ‘चित्रेपोखरीका स्थानीयले गाउँपालिकाको लागि ५० रोपनी जग्गा दिने प्रतिबद्घता जनाउनुभएको छ,’ उहाँले भन्नुभयो, ‘जग्गा नामसारी लगायतको प्रक्रिया सुरु गरिहाल्छौँ ।’


प्रतिक्रिया