स्यार्पू तालमा डुबेर एकको मृत्यु, एक बेपत्ता

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ र ५ नम्बर वडामा फैलिएको स्यार्पूताल । उत्तरपट्टिको क्षेत्रमा बुधबार घटना भएको हो । तस्बिर : हरि गौतम/रेडियो कान्तिपुर । 

श्रावण ७, २०७७ | रुकुम पश्चिम

रुकुम पश्चिमको स्यार्पूतालमा डुबेर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बाँफिकोट गाउँपालिका–३ र ५ नम्बर वडामा फैलिएको तालमा दिउँसो डुबेर सोही गाउँपालिका–५ वडगाउँका २३ वर्षीय लोकबहादुर घर्तीको मृत्यु भएको हो । २० वर्षीय अनिल घर्ती बेपत्ता छन् । 

सोही गाउँका २० वर्षीय शशी पुन आफै बाहिर निस्क्न सफल भएका छन् भने १५ वर्षीय कमल विकलाई स्थानीय जेनिश पुरीले उद्दार गरेका थिए । उनीहरु ४ जना बिहान घरबाट बल्छी खेल्न भन्दै ५ नम्बर वडा तर्फको तालको सिरानमा पुगेका थिए । बल्छी खेल्न गएका उनीहरुमध्य पौडी खेल्न थालेका थिए । 

पौडी खेल्ने क्रममा अनिल घर्तीले डुबेपछि लोकबहादुर घर्ती बचाउनका लागि तालमा पौडिएको घटनास्थलमै रहेका ३ नम्बर वडाध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो । स्यार्पूतालमा आउने खारखोलामा बढेको पानीले पौडने क्रममा चोट लाग्दा पानी खाएर उनीहरु तालमा बेपत्ता भएको बताइएको छ । 

बेपत्ता भएको केही समयमै लोकबहादुरको शव तालमै भेटिएको थियो भने अनिलको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटना स्थलतर्फ गइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो । 

स्यार्पूताल यो वर्ष असार अन्तिम साता नै भरिभराउ भएको थियो । धेरै वर्ष पहिलो मात्रै असारमा ताल भरिभराउ हुने गर्दथ्यो । यो वर्ष असारमै ताल भरिभराउ भएको छ । 


प्रतिक्रिया