पहिरोले गोरखाको धार्चेस्थित नौली खोला थुनियो

पहिरोले थुनिएको गोरखाको धार्चे गाउँपालिका–७ को नौली खोला । तस्बिर सौजन्य : वीरबल गुरुङ । 

श्रावण १०, २०७७ | गोरखा

पहिरोले गोरखाको धार्चे गाउँपालिका–७ को नौली खोला थुनिएको छ । शुक्रबार राति लापुस्थित मापु डाँडामा पहिरो खसेर खोला थुनिएको स्थानीय वीरबल गुरुङले बताए । शुक्रबार राति करीब ११ बजेतिर खसेको पहिरोले नौली खोला थुनिएर ताल बनेको उनले बताए । 

जिल्लाको मापु भन्ने ठाउँको डाँडा नै भासिएको उनले बताए । पहिरो जाने क्रम शनिबार बिहानसम्म रोकिएको छैन । पहिरो मुनिका नौली खोला, नयाँ वस्तीदेखि झरनासम्मका स्थानीयलाई अहिले सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । 

करीब ७० घरपरिवार पहिरोको जोखिममा रहेको उनले बताए । खोला नजिकैका गाउँका स्थानीय सुरक्षित ठाउँमा सरिसकेका छन् भने जोखिममा रहेको अरु वस्तीलाई पनि सार्ने क्रममा रहेको धार्चे गाउँपालिका–७ का वडा अध्यक्ष सूर्यमान गुरुङले बताए । पहिरो खस्दा ठूलो ढुङ्गा खोलामा खसेको र पानीले निकास नपाएको सूर्यमानले बताए ।

खोला थुनिएपछि अहिले पैदल आउजाउ पनि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो । नेपाली सेना र नेपाल प्रहरी सहितको सुरक्षाकर्मीको टोलीलाई घटनास्थल पठाएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया