हत्यारा कोइरालालाई उन्मुक्ति नदिन माग गर्दै प्रदर्शन

श्रावण १२, २०७७ | दाङ

श्रीमती हत्यामा दोषी ठहर भई सर्वस्वसहित जन्मकैद फैसला भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालालाई उन्मुक्ति नदिन माग गर्दै विभिन्न अधिकारकर्मीहरुले सोमबार घोराहीमा प्रदर्शन गरेका छन् ।

‘प्रतिरोध कार्यक्रम’ नाम दिइएको प्रदर्शनमा सहभागी नागरिक समाज र अधिकारवादी संस्थाका प्रतिनिधिहरुले दोषी ठहर भएका कोइरालालाई सर्वोच्च अदालतले सजायबाट उन्मुक्ति दिंदा न्यायप्रति आश मरेको गुनासो गरे । कार्यक्रममा कोइरालालाई जेलमुक्त गर्ने प्रधानन्यायाधिश चोलेन्ऽशमशेर जवरा र न्यायाधिश तेजबहादुर केसीलाई महाअभियोग लगाउन र कोइरालालाई पुन: कारागारमा राखी दण्डहीनताको अन्त्य गर्न माग गरिएको थियो ।

दण्डहिनता अन्त्य गरी महिलामाथि एसिड छ्याप्ने, यौन हिंसा गर्ने र हत्या गर्ने जस्ता घटनामा सम्बन्धित निकायलाई संवेदनशिल बनाउन प्रतिरोध कार्यक्रम गरिएको महिला मानव अधिकार रक्षक सञ्जालकी सचिव लक्ष्मी आचार्यले बताउनुभयो । 

यसका साथै कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पश्चात हत्या भएको लामो समयसम्म पनि अपराधी पत्ता नलाग्दा अपराधीको मनोबल बढ्ने र पीडित थप पीडित बन्नुपर्ने अवस्था आएकाले अपराधीलाई दण्ड र पीडितलाई न्याय दिन माग गरिएको उहाँले बताउनुभयो ।

गीत गाएकै कारण गायिका सोफिया थापामाथि भैरहेको धम्कीप्रति सरकारको ध्यानाकर्षण गराउँदै गायिकाको सुरक्षा व्यवस्था मिलाउन र उनलाई धम्क्याउने समूहलाई अविलम्ब कानूनी प्रक्रियामा ल्याउन पनि अधिकारकर्मीहरुले माग गरेका छन् । 

रुकुम सोती हत्याकाण्ड र रुपन्देही लगायतका स्थानमा अहिलेसम्म दलितमाथि भएका आपराधिक घटनाहरुमा पीडितले न्याय पाउने वातावरण तत्काल निर्माण गर्न पनि माग गरिएको आचार्यले बताउनुभयो । 


प्रतिक्रिया