निर्मला हत्या प्रकरण : आठै प्रहरीले सफाई पाए

श्रावण १५, २०७७ | कञ्चनपुर

निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा प्रमाण नष्ट गरेको तथा पक्राउ परेका आरोपितलाई यातना दिएको आरोप लागेका ८ जना प्रहरी अधिकारीले सफाई पाएका छन् । 

जिल्ला अदालत कञ्चनपुरले तत्कालीन एसपी दिल्लीराज विष्टसहित ८ जना प्रहरी अधिकारीहरुलाई बिहीबार सफाइ दिएको हो । न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले डीएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेठी तथा प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई निर्दोष ठहर्‍याएको छ । 

यस्तै, प्रहरी निरीक्षक जगदीश भट्ट, सईद्वय रामसिंह धामी र हरिसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदले पनि सफाई पाएका जिल्ला अदालतका श्रेष्तेदार यदुराज शर्माले बताउनुभयो । प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टका दाई खडकले यातना सम्बन्धी र निर्मलाकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको कसुरमा ८ जनाविरुद्द अदालतमा जाहेरी दिएका थिए ।

एसपी विष्ट र इन्स्पेक्टर भट्ट भने बर्खास्तीमा परेका छन् भने अन्य ६ जनालाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको छ । निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । घटनाको २ वर्षसम्म पनि प्रहरी अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन ।


प्रतिक्रिया