रुकुम पश्चिमका सबै संक्रमित डिस्चार्ज

श्रावण १६, २०७७ | रुकुम पश्चिम

– रुकुम पश्चिममा कोरोना भाइरस संक्रमितको संख्या शुन्यमा झरेको छ । जिल्ला अस्पतालको आइसोलेसनमा रहेका २ जना संक्रमित आज डिस्चार्ज भएसँगै सबै कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् । हिजो मात्रै चौरजहारी अस्पतालको आइसोलेसनबाट ६ जना संक्रमित डिस्चार्ज भएका थिए । रुकुम पश्चिममा संक्रमित पुष्टि भएका २७ जनाले नै संक्रमण जितेर घर फर्किएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लाका ६ मध्ये ५ स्थानीय तहमा संक्रमण देखिएको थियो । चौरजहारी नगरपालिकाका २०, बाँफिकोट गाउँपालिकाका ३, सानीभेरी गाउँपालिकाका २, मुसीकोट नगरपालिका र त्रिवेणि गाउँपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। । हालसम्म आठबीसकोट नगरपालिकाका कसैलाई पनि कोरोना संक्रमण भएको छैन । २० जनाको उपचार चौरजहारी असपतालमा निर्माण गरिएको आइसोलेसनमा गरिएको थियो भने ७ जनाको उपचार जिल्ला अस्पतालको आइसोलेसनमा भएको थियो । 

आठबीसकोट नगरपालिकाले पनि नगर अस्पतालसँगै आइसोलेसन वार्ड बनाएको छ । जिल्लाका ३ हजार ८ सय ५० जनाको पिसिआर विधि मार्फत कोरोना भए नभएको परीक्षण गरिएको थियो । चौरजहारी नगरपालिकाले कोरोना परीक्षणका लागि पिसिआर मेशिन नै खरिद गरेर सञ्चालनमा ल्याएपछि जिल्लामा कोरोना परीक्षण सजिलो भएको छ । हाल दैनिक ९० जनाको कोरोना परीक्षण जिल्लामै भइरहेको छ । 


प्रतिक्रिया