दिवंगतको सम्झनामा भक्तपुरमा गाईजात्रा मनाईंदै

वर्षदिन भरी दिवंगत भएका आफन्तको सम्झनामा मङ्गलबार बाँसको ताहामचा बनाई नगर परिक्रमा गर्दै स्थानीय । तस्बिर : लीला श्रेष्ठ/रेडियो कान्तिपुर । 

श्रावण २०, २०७७ | भक्तपुर

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका बीच भक्तपुरका स्थानीयले वर्षदिन भरी दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाएका छन् । स्थानीय तहले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गाईजात्रा पर्वलाई औपचारिक पूजाआजामा सीमित गर्न अनुरोध गरेपनि मङ्गलबार बिहान देखि स्थानीयले दिवंगत आफन्तको सम्झनामा ताहामचा बनाई नगर परिक्रमा गरेको छ । गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी भने प्रर्दशन गरेको छैन ।

मृत आत्माले मोक्ष प्राप्त गरुन्, गाईको पुच्छर समातेर बैतर्णी तर्दै स्वर्ग जाउनु भन्ने उद्देश्यले प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाका दिनदेखि श्रीकृष्ण जन्माष्टमीसम्म गाईजात्रा मनाउने परम्परा छ । हिन्दू धर्मग्रन्थमा उल्लेख भए अनुसार यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्छ भन्ने मान्यतालाई अंगाल्दै गाईजात्रा मनाउने गरेको स्थानीय बताउँछन् ।

उपत्यकामा मनाइने गाईजात्रा मध्ये भक्तपुरको जात्रा पृथक् मनोरञ्जनात्मक एवं व्यङ्ग्यात्मक हुने हुँदा त्यहाँको जात्रा बढी चर्चा हुने गर्दछ । एक वर्षभित्र दिवंगत आफन्तको आत्माले मोक्ष प्राप्त गरून्, गाईको पुच्छर समातेर बैतर्णी तर्दै स्वर्ग जाउनु भन्ने उदेश्यले प्रत्येकवर्ष श्रावण शुक्ल प्रतिपदाका दिनदेखि आठ दिनसम्म भक्तपुरमा भव्य रुपमा गाईजात्रा पर्व मनाइन्छ ।

जनैपूर्णिमाका दिन साँझ नै भक्तपुर तलेजुस्थानबाट ताहामचा बनाई देश परिक्रमा गरेपछि जात्रा सुरु हुने परम्परा छ । पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ–आफ्ना दिवंगत आफन्तका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएपछि गाईजात्रा सुरु भएको ऐतिहासिक मान्यता रहेको छ ।

१४ औं शताब्दी भन्दा अगाडि लिच्छवीकालको अन्त्यतिरबाट गाईजात्रा सुरु भएको अनुमान गरिन्छ । गाईजात्रा उमेर नपुग्दै मृत्यु भएका बालबालिकाको साँचा बनाई परिक्रमा गर्ने र उमेर पुगेकाहरुका व्यक्तिहरूको मृत्यु भएमा भने १५ हात लामो बाँसको ताहमचा बनाई नगर परिक्रमा गर्ने परम्परा छ ।

कतिपयले मृतक परिवारको घरबाट बालबालिकालाई शिव पार्वतीको प्रतिकका रुपमा श्रृंगारेर ल्याउने प्रचलन छ । यस्ता बालबालिका भने कर्म नचलिसकेका कलिला बालबालिका हुनुपर्ने मान्यता रहेको बुढापाकाहरु बताउँछन् । आर्थिक अवस्था कमजोर हुनेले पनि कुमार–कुमारी बनाएर घुमाउने तथा जिउँदो गाई मात्रै भए पनि घुमाउने परम्परा रहेको छ ।

नगरको विभिन्न टोलबाट निकालिएको गाईजात्रा भक्तपुर दरबार स्क्वायर, बालाखु गणेश, चोछें, भोलाछें, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरी स्क्वायर, वंशगोपाल, इताछें, खौमा परिक्रमा गर्ने प्रचलन छ । जात्रामा विभिन्न कार्टुन तथा व्यङ्ग्य चित्र बोकेर व्यङ्ग्य गरी हर्सोल्लासका साथ परिक्रममा गर्ने परम्परा छ ।


गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको संस्कृतकर्मी धौभडेलले बताउनुभयो । गाईजात्राका दिन पाप गरे मृत्यु पश्चात पनि सोही कर्म भोग्नुपर्छ भन्ने विश्वासका आधारमा कसैले पापकर्म गर्न नहुने भनाई समेत रहेको उहाँले बताउनुभयो । दिवङ्गत भएका आफन्तहरूको सम्झनामा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि रहि आएको छ ।

जात्रा समापनको क्रममा साँझ परालबाट बनेको ताहमाचा र त्यससँगै भैरव नाचसमेत निकालिने प्रचलन छ । तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको ताहमाचा, यसपछि सोही टोल भरिबाट निकालिएको अन्य ताहमाचा र सबभन्दा पछि नकिङजु अजिमाको ताहमाचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरबार स्क्वायर चोकमा तीनपटक परिक्रम गरेपछि पर्वको पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ ।

आठ दिनसम्म लगातार भक्तपुरमा घिन्ताङघिसी नाचसँगै हनुमान नाच, माक प्याखं (बाँदर नाच), लाखे नाच, भैरव नाच लगायत देवीदेवताका नाच समेत टोलटोलमा प्रदर्शन गरिन्छ । जात्रा अवधिभर विभिन्न व्यङ्ग्यात्मक प्रस्तुतिहरु गर्ने प्रचलन छ । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको गाईजात्रा कृष्ण जन्माष्टमीको दिन तलेजुको जात्रा गरी समापन गरिन्छ । तर, यसवर्ष कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रणका लागि नगरपालिकाले व्यङ्ग्यात्मक प्रस्तुति नगर्न अनुरोध गरेको छ ।


प्रतिक्रिया