रौतहटमा समुदायमा फैलियो कोरोना संक्रमण

श्रावण २१, २०७७ | रौतहट

रौतहटमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । यसअघि भारतबाट फर्किएर जिल्लाका विभिन्न क्वारेन्टिनमा बस्दै आएकाहरुमा मात्र संक्रमण देखिएकोमा अहिले समुदायस्तरमा फैलिएको हो । 

संक्रमण फैलिएसँगै जोखिम न्यूनिकरणका लागि स्थानीय प्रशासनले आगामी शनिबारबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । मंगलबार जिल्लाको राजदेवी नगरपालिकाका ४, गौर र चन्द्रपुर नगरपालिकाका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । समुदायमा पनि कोरोना संक्रमित भेटिएकाले संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरले बताउनुभयो ।

समुदायमा संक्रमण देखिन थालेपछि स्थानीय त्रासमा छन् । प्रशासनले पनि त्यही अनुसारको तयारी थालेको जनाएको छ । यही साउन ११ गते राजदेवी नगरपालिका–८ का वडा अध्यक्षलाई कोरोना सत्रंmमण पुष्टि भएको थियो । 

उनकै कन्ट्याक ट्रेसिङका क्रममा थप ४ जनामा संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक सुबोध साहले बताउनुभयो । नगरपालिकाका कार्यालय सहयोगी २ र वडाध्यक्षको आफन्त २ जनामा संक्रमण देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमितलाई गरुडास्थित प्रहरी विद्यालयको आइसोलेशनमा सेन्टरमा राखिएको छ ।

संक्रमित वडाध्यक्षको सम्पर्कमा रहेका १७ जनाको गत शनिबार स्वाब संकलन गरी हेटौंडा पठाएकोमा ४ जनामा संक्रमण देखिएको हो । गौरका एक जना निमार्ण व्यवसायीमा पनि संक्रमण पुष्टि भएको छ । 

सर्लाही घर भई चन्द्रपुर नगरपालिका–५ ससुरालीमा बसेर क्षयरोगको उपचार गराइरहेका ३९ वर्षीय एक पुरुषमा पनि संक्रमण देखिएको छ । उनी चन्द्रपुर अस्पतालमा उपचार गराई क्षयरोगको औषधि खाइरहेका थिए । उनको स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । 

उनलाई चन्द्रपुर–२ स्थित अस्थायी कोभिड अस्पतालको आईसोलेशन सेन्टरमा राखिएको छ । उनको अवस्था सामान्य रहेको अस्पतालका स्वास्थ्य निरीक्षक मात्रिका चालिसेले बताउनुभयो । स्थानीय प्रशासनले उनको सम्पर्कमा रहेका मानिसहरुको खोजी सुरु गरेको छ । 

जिल्लामा हालसम्म १ हजार ३ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । उपचारपछि १ हजार ३ सय २१ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । विभिन्न १८ स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टिनमा हाल ८९ जना बसेका छन् ।

वडाअध्यक्षको सम्पर्कमा रहेकाको रिपोर्ट नेगेटिभ :

कोरोना भाइरस संक्रमित राजदेवी नगरपालिका–८ का वडाअध्यक्षको सम्पर्कमा रहेका १६ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । पूर्व सांसद बबन सिंह र नगरपालिकाकी उपप्रमुख अन्सु सिंह लगायत १६ जनाको रिपोर्ट नेगेटिभ आएको हो । 

वडा अध्यक्षलाई सत्रंmमण पुष्टि भएपछि उनीहरु सबै क्वारेन्टिनमा बसेका थिए । संक्रमित वडाध्यक्षको श्रीमतीको करेन्ट लागेर मृत्यु भएपछि दाहसंस्कार र श्रद्धाञ्जलीका लागि पूर्व सांसद सिंह र उपप्रमुख सिंह लगायत गएका थिए ।


प्रतिक्रिया