वीरगञ्ज महानगरका प्रमुख प्रशाकीय अधिकृत सहित १३३ मा कोरोना पुष्टि

श्रावण २१, २०७७ | वीरगञ्ज

पर्साको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित थप एक सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

मंगलबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौला, वीरगञ्ज कारागारका जेलर श्रवण पोखरेल सहित एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

संक्रमित मध्ये १७ जना बाराको सिमरा क्वारेन्टिन र बाँकी पर्साका हुन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायका अनुसार २४ महिला सहित ५ वर्षदेखि ७४ वर्ष उमेर समूहका एक सय ३३ जना नयाँ संक्रमित थपिएका हुन् । 

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौलाले फ्रन्टलाइनमा काम गर्दा गर्दै कोरोना संक्रमित भएको बताउनुभयो । 

‘श्रीमती र छोरा मसँगै छन्,’ उहाँले भन्नुभयो, ‘मेरो र श्रीमतीको रिर्पोट पोजेटिभ आएको छ, छोराको नेगेटिभ । तर, छोरा योबीचमा हामीसँग बसेको छ ।’ गत साउन १६ मा दिएको स्वाबको नतिजा साउन २० को राति आएको थियो । रिर्पोट आउनमा ढिलाई भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘रिर्पोट छिट्टै आएको भए छोरालाई अलग्गै राख्न हुन्थ्यो । रिर्पोटको ढिलाईले पनि समुदायमा कोरोना फैलिएको हो ।’ महानगरपालिका कार्यालयका अरु १० जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

कारागारका जेलर श्रवण पोखरेलले साउन १८ गते दिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । यही साउन १२ गतेको स्वाब परीक्षणमा पोखरेलको रिर्पोट निगेटिभ आएको थियो । त्यसबेला कारागारका २२ जनाले स्वाब परीक्षण गर्न दिएकोमा कैदीबन्दी सहित १३ जनाको पोजेटिभ आएको थियो । 

कन्ट्याक्ट ट्रेसिङको क्रममा साउन १८ गते जेलर सहित एक सय १८ जनाले स्वाब दिएका थिए । जसमध्ये जेलर पोखरेल सहित ३४ जनामा कोरोना पोजेटिभ देखिएको हो । नेपाली सेनाका ३ जना, वीरगञ्ज भन्सारमा खटिएका ३ जना सशस्त्र प्रहरीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । 


प्रतिक्रिया