काभ्रेका स्थानीय तहमा अत्यावश्यक बाहेकका सेवा बन्द

श्रावण ३१, २०७७ | काभ्रे

काभ्रेका ५ नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् । धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध र पाँचखाल नगरपालिकाले संयुक्त विज्ञप्ती जारी गर्दै एक साताको लागि सेवा बन्द गरेको जनाएका हुन् । 

कोरोना संक्रमित बढ्दै गएपछि जिल्लाको व्यापारिक केन्द्र बनेपाले अत्यावश्यक सेवा बाहेकका पसल, व्यवसाय समेत बन्द गर्न सूचना जारी गरेको छ । धुलिखेल नगरपालिकाले एक साताको लागि सेवा बन्द गर्दै धार्मिक स्थलमा हुने नित्य पूजा बाहेकका गतिविधीमा समेत रोक लगाएको छ । 

घरमा चाडपर्व मनाउदा समेत भौतिक दुरी कायम राखी स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न अनुरोध गरिएको नगरप्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो । होटल, पसल लगायतका व्यवसाय सञ्चालन नगर्न अनुरोध गर्दै धुलिखेलले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध पनि गरेको छ । 

पाँचखाल नगरपालिकामा कोरोनाको कारण एक जनाको मृत्यु समेत भएपछि बैंक, वित्तीय संस्था समेतका अन्य पेशा व्यवसाय एक साताका लागि बन्द गर्ने निर्णय गरेको नगरप्रमुख महेश खरेलले जानकारी दिनुभयो । जिल्लामा हिजोसम्म ७० जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।   


प्रतिक्रिया